रोल्पा जिल्लाको विकासकाबारे उत्पन्न भ्रमको चिरफार गर्दै उपप्रधानमन्त्री महरा

619
views

काठमाण्डौ, ७ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना विषयलाई जोडेर केही सञ्चारमाध्यममा गलत समाचार प्रवाह भइरहेकामा ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्री महराको सचिवालयले आज जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘रोल्पा जिल्लाको विकासमा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको र कुनैपनि आयोजनामा बजेट कटौती गरिएको छैन ।’‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडकमा विनियोजित रु १५ करोड बजेट कटौती गरेर रोल्पाली जनतालाई धोका दिएको भनी गरिएको प्रचार भ्रामक, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहपूर्ण रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तीनवर्षीय प्रक्षेपणका आधारमा उक्त सडक निर्माणका लागि आव २०७३÷७४ (क्रमागत)मा रु एक करोड २० लाख बजेट विनियोजन भएको र लिबाङ–लाप्चनखण्डमा निर्माण काम भइरहेको सचिवालयले जनाएको छ ।
‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडक अर्थमन्त्रीको उच्च प्राथमिकतामा रहेको, प्रधानमन्त्री दाहालले उक्त सडक निर्माण प्रक्रियालाई अगाडि बढाउने सार्वजनिक घोषणा गर्नुभएअनुसार हाल प्युठान सडक डिभिजन कार्यालयको अग्रसरता र सडक विभागको नेतृत्वमा उक्त सडकको विस्तृत आयोजना प्रतिवेदन तयार भएको तथा एक साताभित्रै उक्त कार्यले पूर्णता पाउने समेत प्रेस नोटमा उल्लेख छ ।