प्राविधिक समस्या देखाउँदै आयोगले भन्यो ‘३१ जेठमा चुनाव गराउन सकिदैन’

614
views

काठमाडौं । प्राविधिक समस्याका कारण ३१ जेठमा निर्वाचन गराउन नसकिने निर्वाचन आयोगले जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गरी ३१ जेठमा निर्वाचन गराउन नसकिने आयोगले जनाएको हो । सरकारले केही दिनअघि स्थानीय तहको संख्या थप गरेपछि जेठ ३१ गते निर्वाचन संभव नभएको बताएको छ । आयोगले नयाँ थपिने संख्या अनुसार निर्वाचन गर्नका लागि प्राविधिक रुपले असंभव रहेको उल्लेख गर्दै पुरानै संख्यामा निर्वाचनको वातावरण मिलाउन समेत आग्रह गरेको छ ।
सरकारले मधेसवादी दलहरुलाईसमेत निर्वाचनमा समेट्ने भन्दै तराईका केही जिल्लामा २२ वटा गाउँपालिका तथा नगरपालिका थप्ने निर्णय गरेको थियो । आयोगले सरकारको तर्फबाट अझैपनि थपिएका स्थानीय तहको संख्या लगायत बिस्तृत विवरण आफुलाई प्राप्त नभएको समेत उल्लेख गरेको छ ।‘परिवर्तित गाउँपालिका तथा नगरपालिकाको बिस्तृत विवरण प्राप्त भएपछि ती गाउँपालिका तथा नगरपालिकाका वडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएको मतदाता नामावली जेठ १५ गतेसम्ममा पुर्याउन प्राविधिक रुपले असम्भव रहेको छ’ आयोगले विज्ञप्तिमा भनेको छ ।
जेठ २७ गतेसम्म परिवर्तित ठेगाना अनुसार मतदाताको परिचयपत्र छापाइ गरी सम्बन्धित मतदान केन्द्रसम्म पुर्याउन नसकिने, जेठ १५ सम्ममा थपिएका तहहरुमा निर्वाचन अिधकृत नियुक्त गरी कार्यालय स्थापना गर्न पनि नसकिने आयोगले उल्लेख गरेको छ ।