गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना, पाइलट राईको निधन

637
views

काठमाडौं १३ जेठ । गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना भएको छ । नाइन एन एके वाइ कल साइन नम्बरको विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । ‘विमान लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुर्घटनाग्रस्त गोमा एयरको कार्गो विमानका पाइलट पारसकुमार राईको निधन भएको छ । नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले पनि गोमा एयरको विमान लुक्लामा दुर्घटना भएको जानकारी पुष्टि गर्नु भएको छ ।
कार्गो विमानमा पाइलट पारसकुमार राई र को–पाइलट सिर्जन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन सवार हुनुहुन्थो । कार्गो विमान भएका कारण यात्रुहरु भने थिएनन । च्यापिएको अवस्थाबाट उद्धार गरिनु भएका राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।