मध्यरातमा भएको विवादबारे यस्तो छ उम्मेदवार रेणु दाहाल, एसपी थापा र सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेको भनाई

837
views

भरतपुर, १५, जेठ । आइतबार साँझसम्म २७ वडाको मतगणना सकिँदा माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीको मतान्तर घटाउँदै गएकी थिईन् । धेरै मतले लिड गरिरहेका ज्ञावलीको मत घट्दो र रेणुको मत बढदो भएपछि भरतपुर महानगरपालिकाको मतगणना रोचक थियो । तर मध्यरातमा षडयन्त्रका तानावाना हुन थाले । अन्तत गणना स्थलभित्रै विवाद मच्कियो । मतगणनास्थलबाट प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा एमाले प्रतिनिधि गंगा लामा र माओवादी चितवनका सहईञ्चार्ज द्रोण सिवाकोटी, वाईसीएलका मधु न्यौपाने रहेका छन् ।
मतपत्र च्यात्ने दुई एमाले कार्यकर्ताको हर्कत गुपचुप राखियोः रेणु दाहाल
माओवादी केन्द्रलाई दोष लगाइरहेका बेला भतरपुर महानगरपालिका माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले ‘एकपक्षीय समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएकी छन् । उनले भनिन ‘करिब ४ हजारले अगाडि रहेका ज्ञवालीको अग्रतालाई ५ सयमा झारेको र १९ र २० नम्बर वडाको मतगणना सकिँदा जित्ने पक्का भएपछि एमालेले मध्यरातमा षड्यन्त्र गर्याे ।’‘मैले लिड गर्ने अवस्था आएको थियो, आफू हार्ने भएपछि एमालेले षड्यन्त्रपूर्वक मतपत्र च्यात्ने काम गरे’, रेणुले मतपत्र च्यात्ने दुई एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरे पनि सञ्चार माध्यममा नल्याई गुपचुप राखिएको दाबी गरिन् ।‘हाम्रा मात्रै मान्छे समातिए भनेर प्रचार गरिएको छ, तर एमालेका दुई जना समातिएको कतै आउँदैन ।
बाँदरझै उफ्रेर मत पत्र समात्न गएः एसपी थापा
मतपत्र च्यातेको घटनाबारे चितवन प्रहरी प्रमुख एसपी दीपक थापाका अनुसार मत गणना शान्तिपूर्ण रुपमा भइरहेको थियो । कभर्ड हल भित्रको वातावरण सौहार्दपूर्ण थियो । म र डिएसपी सा’ब समेत गरेर त्यो बेला ३३ प्रहरी मतगणनास्थलमै थियौं। पार्टीका मुख्य मुख्य नेताहरु पनि थिए ।छवटा समूह बनाएर मत गन्ने काम हुन्छ, हिजो पनि त्यही भइरहेको थियो । कतै गणना भइरहेको थियो, कतै सकेर रेजा गन्ने काम हुँदै थियो । जसमध्ये दुईवटा समूहमा विवाद निस्कियो । त्यतिबेला रातको करिब १२ बजेको हुँदो हो । विवाद हुँदै थियो एउटा समूहको प्रतिनिधि बाँदरझै उफ्रेर मत पत्र समात्न गए । चार पाँचवटा जति च्याते पनि । उनी उफ्रेको देख्ने वित्तिकै म तत्काल त्यता बढे । उनलाई समातेँ । त्यसपछि थप व्यक्ति पनि समातिए । उनीहरु मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी हुन् । उनीहरु माओवादी केन्द्रका प्रतिनिधि हुन् । त्यहाँ पार्टीले तोकेका प्रतिनिधिहरु नै थिए । त्योभन्दा बाहेकका व्यक्तिहरु भित्र थिएनन् ।

अन्य समूहमा रहेकाले आएर मतपत्र च्याते-सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरे
गणना नमिलेको भन्दै टेबुलमा हानेर विवाद गर्न खोजेपछि अन्य समूहमा रहेकाले आएर मतपत्र च्यातेको साहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार करिब एक सय मतपत्र च्यातिएको छ भने ३० भन्दा बढी धुजा भएको छ । च्यातिएको सहित गन्न बाँकी रहेका मतपत्र सिलबन्दी गरिएको छ । घटना बारे निर्वाचन आयोगलाई जानकारी गराइएको र निर्वाचन आयोगको निर्णय अनुसार मात्र अघि बढ्ने घिमिरेले बताउनुभयो । मतगणना स्थलको ढोकामा पनि सिलबन्दी गरिएको छ । च्यातिएको मतपत्र संकलन गरेर सबै सिलबन्दी गरेका छौ, घिमिरेले भन्नुभयो निर्वाचन आयोगको निर्णय अनुसार अघि बढ्छौ ।’