एमालेले संसद चल्न दिएन, फेरी २१ गते सम्मको लागि स्थगित

604
views

काठमाडौँ, १८, जेठ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण व्यवस्थापिका संसद्को बिहीबारको बैठक पनि चल्न सकेन् । कार्यसूचीमा प्रवेश नगरी संसद बैठक स्थगन भएको छ । भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले दोस्रो दिन पनि सदन अवरोध गरेको हो । बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि बैठक अवरोध भएको हो ।
एमालेका सांसदहरु उठेपछि नियमापत्ति गर्दै नेकपा (माओवादी केन्द्र)का रामनारायण बिँडारीले बोल्न समय माग गरेपनि बोल्न पाउनुभएन । विरोध जनाइरहेका सांसदहरुलाई बस्न आग्रह गर्दा नमानेपछि सभामुख ओनसरी घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कार्यवाही अघि बढ्न नसक्ने जनाएर बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको घोषणा गर्नुभयो ।
आजको बैठकमा बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्नेसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र आगामी आर्थिक वर्षको सरकारको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।