वातावरण संरक्षणमा मन, वचन र कर्मले लागौँ राष्ट्रपति भण्डारी

725
views

काठमाडौं, २२ जेठ, ।
विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्न आह्वान गरेकी छन् ।
जनसङ्ख्या तथा वातावरण मन्त्रालयद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवम् संवर्दन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबैमा अपिल गरिन ।
राष्ट्रपतिले ‘जलवायु परिवर्तनको प्रभाव वातावरणीय ह्रास विकास र वातावरण बीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न हामी सबै गम्भीर भएर लाग्नुपर्दछ ।’
राष्ट्रपति भण्डारीले ‘जलवायु परिवर्तनका कारण विश्वमा वातावरण विनाश भइरहेको सन्दर्भमा प्राकृतिक र जैविक विविधताले सम्पन्न राष्ट्र नेपालका लागि वातावरण दिवस मनाउनुको विशेष महत्व रहेको छ’, राष्ट्रपति भण्डारीले भनिन् ।
नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र समुदाय विकास साझेदारलगायत आम नागरिक सचेत र प्रतिबद्ध रहनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।
सन् १९७२ मा सम्पन्न संयुक्त राष्ट्र सङ्घको साधारणसभाले विश्वमा हरेक वर्ष जुन ५ का दिन विश्व वातारण दिवस मनाउने घोषणा गरेअनुरूप विश्वभर विभिन्न कार्यक्रमसहित जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिएको पाइन्छ । यस वर्षको नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध रहिरहोस् अनन्त’ भन्ने रहेको छ ।
समारोहमा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै आर्थिक, सामाजिक विकासले गति लिइरहेको अवस्थामा वातावरण विकासले समेत गति लिन थालेको बताए ।वातारण संरक्षण समितिका कार्यवाहक सभापति मानबहादुर विश्वकर्माले संविधानको कार्यान्वयनस्वरूप वातावरण संरक्षण तथा प्रवद्र्धनबारे स्थानीय निकायले महत्वपूर्ण भूूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।