नेकपाका नेता कार्यकर्ता अबिलम्ब रिहाई गर्न क्रान्तिकारी माओवादीको माग

620
views

काठमाडौं २६, जेठ । चुनाव उपयोग गर्नु वा चुनावमा भाग लिनुजस्तै बहिष्कार गर्नु पनि लोकतान्त्रिक अधिकार भएको भन्दै नेकपाका बहिष्कार आन्दोलनमा सहभागी नेकपाका नेता कार्यकर्तालाई पक्राउ नगर्न र पक्राउ गरेकालाई अबिलम्ब रिहाई गर्न नेकपा (क्रान्तिकारी माओवादी)ले माग गरेको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले एक सार्वजनिक वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् ।
वक्तव्यमा केही समययता वर्तमान संसदीय व्यवस्थाको निर्वाचन बहिष्कार आन्दोलनमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई ठूलो संख्यामा धरपकड गर्ने, यातना दिने, जेल चलान गर्ने र मुद्दा लगाउने जस्ता गैरलोकतान्त्रिक क्रियाकलाप भइरहेका समाचारहरु प्राप्तप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै संसदीय निर्वाचनहरुमा भाग लिनु तथा उपयोग गर्नु जस्तै बहिष्कार गर्नु पनि लोकतान्त्रिक अधिकार हो । यस प्रकारको अधिकारको उल्लंघन गरी बहिष्कार आन्दोलनमा संलग्न पार्टीका नेता कार्यकर्ताहरुप्रति उक्त प्रकारको व्यवहार गर्नु अत्यन्तै अलोकतान्त्रिक, निन्दनीय र तानाशाही प्रवृत्तिको प्रदर्शन गर्नु हो ।
तसर्थ, हाम्रो पार्टी बहिष्कार आन्दोलनमा संलग्न नेकपाका नेता कार्यकर्ताहरुलाई धरपकड नगर्न र पक्राउ गरिएका तथा थुनामा राखिएका सम्पूर्ण नेता कार्यकर्ता कमरेडहरुको अबिलम्ब रिहाई गर्नका लागि सरकारसित जोडदार माग गर्दछ ।” वक्तव्यमा भनिएको छ ।