चुनाव नतिजाले अतालिएका प्रचण्डले गरे वैद्य र चन्दसँग पार्टी एकताको आग्रह

586
views

काठमाण्डौं, २७, जेठ । पहिलो चरणको चुनावी नतिजाले अखजोडमा परेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोहन बैद्य किरण र विप्लबसँग पार्टी एकताको पक्षमा देखिए । प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन भन्दै आफ्नो पार्टीले विशेष पहल गरिरहेको समेत बताए । आफ्नो निवास लाजिम्पाटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने ‘अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन, मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वमा रहनुभएका सबै कमरेडलाई म पार्टी एकतामा आउन आग्रह गर्दछु ।’ अध्यक्ष दाहालले संविधान कार्यान्वयन हुँदैन कि वा मुलुक अगाडि बढ्दैन कि भन्ने आशङ्का र चुनौतीकाबीचबाट आफ्नो नेतृत्वको सरकारले सहजै रुपमा मुलुकलाई नयाँ दिशामा अगाडि बढाएको दाबी गर्दै भने ‘अब कोही कसैमा पनि दुविधा रहनु जरुरी छैन, किनकी मुलुक नयाँ लक्ष्यका साथ अगाडि बढेको छ ।’
देशमा आर्थिक समृद्धिको एउटा आधार तयार भएको उल्लेख गर्दै दाहालले समाजवादको आधार तयार भएको, नेपाली जनतामा एउटा नयाँ आशाको सञ्चार भएको र परिवर्तन संस्थागत हुन सक्छ भन्ने आत्मविश्वास पैदा भएको धारणा व्यक्त गरे ।
उनले एमालेलाई अवसरवादीको संज्ञा दिए । अवसरवादी एमाले पार्टीका इमान्दार नेता तथा कार्यकर्तालाई समेत माओवादी केन्द्रमा समाहित भएर मुलुक निर्माणमा लाग्न आग्रह गरे । आफ्नै साथबाट छुटेका नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुरामको बारेमा भने कुनै चर्चा गरेनन् ।