काँग्रेसभित्र प्रदेश नं. २ र ५ को निर्वाचन सार्ने प्रस्ताव

599
views

काठमाण्डौ, ३१, जेठ । मधेसमा भएको तनावको विषयलाई लिएर प्रदेश नं. २ र ५ को स्थानीय तहको निर्वाचन सार्न कांग्रेसभित्रै छलफल भएको छ । कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकमा प्रदेश नं. २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले निर्वाचनको मिति सारेर समाधान खोज्नुपर्ने बताएका हुन् । तर, अन्य केही सदस्यले भने घोषित मितिमै निर्वाचन गर्नुपर्ने अडान लिएका छन् ।
बैठकमा विमलेन्द्र निधि र रमेश रिजालले राजपालाई निर्वाचनमा ल्याउने वातावरण निर्माण गर्न केही दिन निर्वाचन सार्नुपर्ने धारणा राखेका हुन् । राजपाले माने प्रदेश नं. २ मात्रै, नमाने ५ नं. प्रदेशको पनि निर्वाचन सारेर समाधान खोज्नुपर्ने उनीहरूको सुझाब छ ।
आफू केही दिनअघि जनकपुर पुग्दा कार्यक्रममै हस्तक्षेप गरेर राजपाका जिल्लास्तरीय नेताहरूकै संलग्नतामा कांगे्रसको झन्डा जलाइएको प्रसंग समेत उठेको थियो ।
प्रदेश नं. २ बाट कांग्रेसको केन्द्रमा प्रतिनिधित्व गर्ने आनन्द ढुंगाना, फरमुल्लाह मन्सुर र पद्मनारायण चौधरीसहित आठै जिल्लाका सभापतिसँगको छलफलपछि मात्र आफू यो निष्कर्षमा पुगेको बैठकमा उठाइएको थियो ।
बालकृष्ण खाण र डा. प्रकाशरण महतको असहमति
निर्वाचन सार्ने धारणामा केन्द्रीय सदस्यद्वय बालकृष्ण खाण र डा. प्रकाशरण महतले भने असहमति जनाएका थिए । उनीहरूले पार्टीको प्रतिष्ठाका लागि भएपनि घोषित मितिमै निर्वाचन गर्नुपर्ने बताएका थिए । खाणले कुनै पक्षलाई ल्याउने बहानामा निर्वाचन सार्न नहुने बताए । ‘आन्दोलनरत पक्षलाई ल्याउन भन्दै पहिला एक महिना, त्यसपछि नौ दिन, त्यसपछि ५ दिन निर्वाचन सारिसकियो । अब फेरि त्यही प्रयोजनका लागि चुनाव सार्न हुन्न,’ खाणको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
देउवाले बदले छलफलको एजेन्डा
निर्वाचन सार्ने र नसार्ने विषयमा बहस चर्कन थालेपछि सभापति शेरबहादुर देउवाले बैठकको एजेन्डा मोडेका थिए । देउवाले भने, ‘बैठक टिकट बाँड्न बोलाइएको हो, अहिले अन्य विषयमा छलफल नगरौँ ।’ निर्वाचनको मितिबारे प्रमुख प्रतिपक्षी दल एमाले र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), राप्रपा र नेपाल लोकतान्त्रिक फोरमसँग छलफल गरेपछि मात्रै बहस गर्नुपर्ने देउवाको भनाइ थियो ।