निर्वाचन विथोल्ने अराजनीतिक कार्य नर्गन एमालेको आग्रह

874
views

भक्तपुर, १, असार, । एमाले स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने अराजनीतिक कार्य भएको निष्कर्ष निकालेको छ । ओली निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्ने कार्य नगर्न राजपालाई आग्रह गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।
संवैधानिक आयोगको सिफारिसमा बनेको स्थानीय तहको संख्या र सीमाङ्कनको आधारमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनको सम्मुखमा आएर फेरि संख्या र सीमाङ्कन हेरफेर गर्ने कुरामा एमाले कुनै हालतमा सहमति हुन नसक्ने उहाँले बताउनुभयो ।
स्थानीय तहको सङ्ख्या थपघट तथा संविधान संशोधन गर्नुपर्ने भए पनि संसदीय निर्वाचनपछि संवैधानिक र कानुनी माध्ययमबाट पुनर्विचार गर्न सकिने एमालेको धारणा रहेको उहाँले बताउनुभयो । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाबाट निर्वाचन सार्ने र निर्वाचनलाई अन्योलतातर्फ धकेल्ने गरी आएको अभिव्यक्तिप्रति एमालेले चिन्ता व्यक्त गरेको छ र यस्ता भ्रमपूर्ण अभिव्यक्ति नदिन सरकारलाई आग्रह समेत गरेको छ ।
राजपाको आन्दोलनलाई देखाएर चार वटा प्रदेशको निर्वाचन सार्ने कार्य एमालेलाई कुनै हालतमा स्वीकार्य नहुने बैठकमा निर्णय भएको जानकारी दिँदै सचिव भट्टराईले ‘राजपाले उठाएका सबै माग तत्काल पूरा हुन नसक्ने बताउनुभयो ।