मुख खोले वैद्यले ः ‘मधेसी जनताको हक अधिकारका निम्ति जनताको संघीय गणतन्त्र आवश्यक’

660
views

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले मधेसी जनताको हक अधिकारका निम्ति जनताको संघीय गणतन्त्र आवश्यक भएको बताएका छन् । उनले वक्तव्य मार्फत २ नं. प्रदेशको निर्वाचन मिति सार्ने सरकारको निर्णयको विरोध समेत गरेका छन् । शुक्रबार अध्यक्ष वैद्यले जारी गरेको वक्तव्यमा भनिएको ‘सरकारले राजपालाई सन्तुष्ट तुल्याउनका लागि २ नं. प्रदेशको स्थानीय निर्वाचन तीन महिना पर सारेर र दोस्रो चरणको निर्वाचनका लागि गरिने उमेद्वारहरुको मनोनयनलाई दुई दिन पर धकेलेर विचित्र प्रकारको नौटंकी मञ्चन गरेको उल्लेख गरेका छन् । विज्ञप्तीमा भनेका छन्, यसबाट एकातिर स्वयम् राजपाभित्रकै कतिपय घटक सन्तुष्ट देखिएका छैनन् भने अर्काेतिर सरकारको अस्थिर चिन्तन एवम् कार्यशैलीप्रति आम जनतामा तीव्र आक्रोश पैदा भएको छ ।‘ तसर्थ, हाम्रो पार्टी सरकारद्वारा गरिएको उक्त निर्णयको जोडदार विरोध गर्दछ ।’
जारी वक्तव्यमा भनिएको छ ‘हाम्रो स्पष्ट धारणा के छ भने उत्पीडित मधेसी जनताका हक, हित तथा अधिकारको प्राप्ति तथा तिनलाई स्थापित गर्ने कुराप्रति पार्टी संवेदनशील तथा प्रतिबद्ध रहिआएको छ । सम्पूर्ण उत्पीडित वर्ग र जनसमुदायका साथै मधेसी जनताका हक, हित तथा अधिकारको प्राप्ति यस संविधानको संशोधन होइन यसलाई खारेज गरी आन्तरिक तथा बाह्य सबैखाले षड्यन्त्र एवम् हस्तक्षेपका विरुद्ध वर्गीय मुक्ति तथा पहिचानसहितको संघीयतामा आधारित जनगणतान्त्रिक संविधानको निर्माण गरेर नै हुन सक्तछ ।
जारी वक्तव्य मार्फत ‘संघीय जनगणतान्त्रिक संविधानको निर्माणको लागि प्रभावकारी संघर्ष तथा जनआन्दोलनको तयारीका लागि आम जनसमुदायमा विशेष अपील समेत गरिएको छ ।’