ट्रम्पले ओबामा र क्युबा सरकारबीची भएको सम्झौता रद्द गर्ने

661
views

एजेन्सी । दुईवर्षअघि शीतयुद्धको समयदेखि नै एक अर्काका विरोधीका रुपमा रहेका क्युबा र अमेरिकाबीच राजनीतिक सम्बन्ध स्थापित भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा र क्युबा सरकारबीची भएको सम्झौता रद्द गर्ने बताएका छन् ।
मयामीमा क्युबाली अमेरिकीको एक समारोहमा बोल्दै उनले अमेरिका साम्यवादी दमन अर्थात कम्युनिस्ट अप्रेशनको नाममा चुप नबस्ने चेतावनी दिए । ट्रम्पले क्युबाविरुद्ध फेरि यात्रा र ब्यापारिक प्रतिबन्ध लगाएका छन् । तर यो कडा कदमका साथ उनले क्युबासँगको राजनीतिक सम्बन्ध पूर्ण रुपमा अन्त्यको घोषणा गरेका छ्रैनन् । क्यबाको राजधानी हवानामा स्थापना गरिएको अमेरिकी दुतावास पनि तत्कालै बन्द गर्ने कुनै निर्णय भएको छैन ।
ट्रम्पले भविष्यमा दुई देशबीचको सम्बन्ध क्युबाले गणतन्त्र र आर्थिक सुधारका लागि के कोशिस गर्छ भन्नेमा निर्भर रहने बताएका छन् ।जुलाई २०१५ मा अमेरिका र क्युबा ५४ वर्ष लामो अन्तर्विरोधलाई थाँती राख्दै एक अर्को देशमा बन्द रहेको दूतावास दोस्रो पटक खोज्न सहमत भएका थिए ।
फिडेल क्यास्ट्रोको नेतृत्वमा भएको क्रान्तिको दुई वर्षपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध टुटेको थियो । त्यसपछि अमेरिकाले क्युबामाथि लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएको थियो ।
त्यसपछि पहिलो पटक गत वर्षको मार्चमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्यबाको भ्रमण गरेका थिए । सन् १९५९ पछि क्युबा जाने उनी पहिलो बहालवाला राष्ट्रपति पनि हुन् ।