सडक मर्मतपछि डेढ घण्टाको बाटोको दुरी तिस मिनेटमा

784
views

म्याग्दी ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी–मान्द्रेढुङ्गा सडक मर्मतपछि स्थानीयलाई राहत मिलेको छ । सडक मर्मत गरीएपछि बाह्रै महिना नियमित सवारीका साधनहरु सञ्चालनमा आउने भएका छन् िजिल्ला समन्वय समिति, साविक गाविस कार्यालय र उपभोक्ताको १२ लाख रुपैयाको लागतमा पाँच किलोमिटर सडक मर्मत गरिएकोले डेढ घण्टाको बाटोको दुरी ३० मिनेटमा झरेको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर पाईजाको भनाई छ ।
अप्ठ्यारो ठाउँमा पिसीसी ढलान, ढुङ्गा बिछ्याएर सोलीङ, साँघुरो घुम्तीहरुमा मोड सुधार, ग्रेड मिलाउने, नाली निर्माण र ग्यावियन पर्खाल निर्माण गरिएको छ । जिल्ला समन्वय समिति मार्फत दुई चरणमा नौ लाख रुपैया अनुदान प्राप्त उक्त सडक मर्मतका लागि साविक भुरुङ तातोपानी गाविसले दुई लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।

उपभोक्ताहरुले करिब डेढ लाख रुपैयाँको श्रमदान गरेका छन् । २०७४ असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य रहेको सडक मर्मत योजना जेठमै सम्पन्न भएको छ । सडक मर्मतपछिका दिनहरुमा दैनिक उपभोग्य, निर्माण सामाग्री ढुवानी, गाउँमा उत्पादीक कृषि उपज निकासी गर्न र आवत जावतमा सहज भएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए ।