त्रिवि शिक्षण अस्पतालले एक महिलाको पेटबाट ३५ किलोको ट्युमर निकाल्यो

688
views

काठमाडौं, २४, असार । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोलीले रामेछापकी दिलमाया सार्कीलाई नयाँ जीवन दिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोलीले रामेछाप गोठगाउँकी दिलमाया सार्कीको पेटमा रहेको ३५ किलोको ट्युमर झिकेर बिरामीलाई बचाउन सफल भएको हो । ४२ वर्षीया दिलमाया सार्कीको शल्यक्रिया गरी ट्युमर निकालिएको हो । ट्युमरका कारण जोखिममा परेकी सार्कीको यो सफल शल्यक्रियाले अस्पताललाई सफलता हासिल भएको छ । जीवित महिलाको पेटबाट ३५ किलोको ट्युमर झिकिएको सम्भवतः विश्वमै पहिलोपटक भएको चिकित्सकको दाबी छ ।
दुई साताअघि अस्पतालका सर्जन डा.विकल्प घिमिरे नेतृत्वको २४ जना चिकित्सकको टोलीले ६ घन्टा लगाएर ट्युमर झिकेको थियो । दिलमाया स्वस्थ हुँदै गएपछि अस्पतालले शुक्रबार त्यसबारे पत्रकार सम्मेलन समेत गरेको थियो । ट्युमरका कारण असहज जीवन बिताउँदै आउनुभएकी दिलमाया आफन्तको सहयोगमा असार २ गते अस्पतालमा जाँचका लागि पुग्नुभएको थियो । जाँचका क्रममा उहाँको पेटमा ठूलो ट्युमर देखिएपछि चिकित्सकले शल्यक्रियाका लागि छलफल र परामर्श गरेका थिए । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागकी पूर्वप्रमुख डा. आश्मा रानाले पाठेघर छेउछाउको तन्तुबाट पलाएको ट्युमरको सफल शल्यक्रिया भएको नेपालमा पहिलो पटक भएको र विश्वमै पनि सम्भवतः पहिलो हुन सक्ने बताउनुभयो । आर्थिक अवस्थाले कमजोर दिलमायाको अस्पतालले निःशुल्क उपचार गरेको हो । उहाँका अनुसार करिब सात वर्षदेखि पेट दुख्ने, फुल्ने, दिसापिसाब गर्न गाह्रो हुने, असहज हुने, हिँडडुल गर्न गाह्रो हुने लगायत समस्या बढेको थियो । पेटबाट ट्युमर हटेपछि आफूलाई सहज भएको दिलमायाले बताउनुभयो ।