गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघातका कारण माओवादी पराजित

610
views

काठमाडौं, २८, असार । माओवादी केन्द्रका नेताहरूले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमीले पार्टीले पराजय भोग्नु परेको निष्कर्ष निकालेको छ ।
(ओभर कन्फिडेन्स) हुँदा जित्ने ठाउँहरुमा पनि पराजित हुनुपरेको भन्दै पार्टी हेर्डक्वाटरमा भएको रिपोर्टिङमा नेताहरुले निष्कर्ष निकालेका हुन् । दुई चरणमा सम्पन्न ६ वटा प्रदेशको चुनावी समीक्षा, २ नम्बर प्रदेशको स्थानीय चुनावदेखि प्रदेश र केन्द्रसम्मको चुनावको तयारी र संगठनात्मक कार्यायोजनाका विषयमा भएको छलफलमा नेताहरुले यस्तो जिकिर गरेका हुन् ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुरूप परिणाम ल्याउन नसक्नुमा आन्तरिक र प्राविधिक कमजोरी रहेको बताएका थिए । राम्रो परिणाको अपेक्षा गरेको रोल्पाकै तीन स्थानीय तहमा पराजित हुनु, पहिलो चरणको भन्दा राम्रो नतिजा नआएपछि माओवादी केन्द्रको चुनावी समीक्षा बसेको हो । चुनाव समीक्षाकै लागि उसले २ साउनदेखि केन्द्रीय सचिवालयको विस्तारित बैठक बोलाएको छ । बैठकमा प्रस्तुत गर्ने लिखित राजनीतिक दस्ताबेज तयारीका लागि मंगलबार अध्यक्ष दाहालले पार्टी हेडक्वार्टरको बैठक राखेका थिए ।
’माओवादीले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आइसकेको अवस्थामा आफ्नो पहिचानसहित कसरी अगाडि जाने भन्नेमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको त्यसैको तयारीका लागि मंगलबार हेडक्वार्टरमा सामान्य छलफल भएको गिरिराजमणि पोखरेलले जानकारी दिए ।
बैठकमा ५ नम्बर प्रदेश इन्चार्ज एवं नेता वर्षमान पुनले नतिजाको तथ्यगत रिपोर्टिङ राख्दै समग्रमा पार्टी निराश भई हाल्नुपर्ने परिस्थिति नदेखिएको बताए । पुनले संविधानसभाको ०७० को पछिल्लो निर्वाचनमा भन्दा पार्टीले भोट प्रतिशतमा झन्डै ४ प्रतिशतले बढाएको, ३७ वटा स्थानीय तहको प्रमुख पदको प्रतिस्पर्धामा पार्टी दोस्रो स्थानमा रहेको समेत रिपोर्टिङ गरेका थिए ।
प्रदेश नम्बर एकका इन्चार्ज गोपाल किराँतीले निर्वाचनमा भएका आर्थिक चलखेल र धाँधलीका अनेक नयाँ रूपलाई नियन्त्रण गर्न नसक्दा पार्टी कतिपय स्थानमा पराजित हुन पुगेको जिकिर गरे । उनले मतगणना गर्दा माओवादी उम्मेदवारको पक्षमा परेको मत वदर गराउने, गणनाको तथ्यांकमा गोलमोटल गर्नेजस्ता धाँधलीका नयाँ रुपहरु देखिएको पनि रिपोर्टिङ गरे ।
प्रदेश नम्बर ७ का इन्चार्ज लेखराज भट्टले भने निर्वाचनका बेला माओवादी उम्मेदवार आर्थिक र भौतिक रूपमा पनि थाकेका कारण परिणाम पक्षमा आउन नसकेको बताए ।’चुनाव लामो भयो, हामी पहिल्यैदेखि तयारीमा लागेका थियौं, त्यसबेला कांग्रेस–एमाले तयारीमै थिएनन् तर जब चुनाव लाग्यो, हामी थाक्यौं, अरू ताते, बिंड तात्ने बेला हामी तात्न नसक्दा हारेको उनले बताए । बैठकमा कुलप्रसाद केसी, शक्ति बस्नेत, जयपुरी घर्ती, टंक राईलगायत नेताले रिपोट गरेका थिए ।