नोबेल शान्ति पुरस्कार विजेता लिउ जियाओबो क्यान्सरका कारण मृत्यु

840
views

एजेन्सी । चीनका नोबेल शान्ति पुरस्कार बिजेता लिउ जियाओबोको निधन भएको छ । ६१ वर्षीय लिउ जियाओबो चिनियाँ राज्य व्यवस्थाविरुद्ध आवाज उठाउनुका साथै मानवअधिकारका पक्षमा कथित वकालतका कारण जेल जीवन बिताउँदै आएका थिए ।
केही समयदेखि गम्भीर विरामी रहेका उनको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो । क्यान्सर रोगसँग लडिरहेका उनलाई गत महिना जेलबाट उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उनीमाथि चीनमा ११ वर्षको जेल सजाय तोकिएको थियो । उनी विश्वविद्यालयका प्राध्यपक देखि चीनमा मानवअधिकारको आन्दोलनमा सामेल भएका थिए । सोही कारण उनले पटक पटक जेल जीवन बिताउनु परेको थियो । जेल बाहिर रहँदा समेत उनीमाथि चीनले केही प्रतिबन्ध लगाएको थियो भने उनकी पत्नीलाई समेत नजरबन्द गरिएको थियो । पछिल्ला केही केही महिनामा केही पश्चिमा देशले चीनलाई जियाओबोलाई उपचारका लागि अन्य देशमा जान दिन आग्रह गरेका थिए । चिनियाँ चिकित्सकहरुले भने उनी उपचारका लागि बिदेश जान सक्ने अवस्थामा नरहेको भन्दै चीनमा नै उपचार गराउनुपर्ने बताउँदै आएका थिए ।
लिउको प्राकृतिक श्वासप्रश्वास प्रणालीमा अवरोध उत्पन्न भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रस्वास गराउन आवश्यक रहेकोमा उनको परिवारजनले नमानेको उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सि्टिले जनाएको छ ।
यसअघि पनि सो अस्पतालले उनको शरीरका धेरै अंगहरुले काम गर्न छाडेको बताएको थियो । सन् २००८ मा राज्यद्रोहको अभियोगमा उनीमाथि सन् २००८ मा जेल सजाय सुनाइएको थियो ।