माओवादी बैठक शुरु, प्रचार विभागले लिएको १० करोड रुपैयाको खोजी

651
views

काठमाडौ, २ साउन । ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय सचिवालयको बैठक जिल्ला ईन्चार्जहरुको उपस्थितिमा केन्द्रीय कार्यालय, पेरिसडाँडामाबसेको छ । बैठकमा निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र संगठनात्मक विषयमा छलफल हुँदैछ । नेकपा माओवादी केन्द्रका नेताहरु स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा भोगेको पराजयको कारण खोज्न सो बैठकमा जुटेका हुन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा जिल्ला इन्चार्जहरु शिर्ष नेतृत्व प्रति आक्रोश पोख्ने तयारीका साथ बैठकमा पुगेका छन् । पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले ८४ तहमा मात्रै जित हासिल गरेको छ । शिर्ष नेतृत्व संगठनमा भन्दा सत्तामा केन्द्रित रहेको, पार्टीको साधन र स्रोत समानुपातिक ढंगले वितरण नगरेको, शिर्ष नेतृत्वले गाउँ र नगर समितिलाई प्राथमिकता नदिएको जस्ता आरोप लगाउने योजना जिल्ला इन्चार्जहरुले बनाएका छन् ।
बैठकमा सहभागी एक इन्चार्जका अनुसार निर्वाचनमा भोगेको पराजयको समीक्षा गरी आगामी कार्यक्रम नल्याएको अवस्थामा पार्टीलाई बचाई राख्न संभव छैन । ‘निर्वाचनमा जित्ने र हार्ने दुवैका लागि कार्यक्रम चाहिएको छ,तिनका लागि शिर्ष नेतृत्वले के कार्यक्रम ल्याउँछ ?’ ती इन्चार्जले भने ।
निर्वाचन प्रचारका लागि प्रचार विभागले लिएको १० करोड रुपैयाका बिषय पनि बैठकमा जोडदार रुपमा उठने भएको छ । सो रकम मध्ये १० लाख रुपैया पनि निर्वाचन प्रचारमा खर्च नभएको आरोप नेताहरुले लगाएका छन् । ‘बाँकी पैसा कहाँ गयो ?’ अर्का एक नेताले भने ‘एकातिर गाउँमा कार्यकर्ताहरु ऋणमा डुब्ने, नेताहरु पार्टीको पैसामा मस्ती गर्ने ? यो हुन सक्दैन ।’ एक नेताका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रचारका लागि भनेर प्रवक्ता पम्फा भुसाललाई १० करोड रुपैया दिनु भएको थियो ।