क्रान्तिकारी माओवादीद्वारा पार्टी एकीकरण र ध्रुविकरणका लागि क्रान्तिकारी कम्युनिष्ट समूहलाई आग्रह

825
views

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले विभिन्न टुक्रामा विभाजित अवस्थामा रहेका क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहलाई एकताका लागि आव्हान गरेको छ ।
शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न अध्यक्ष मोहन वैद्य किरणले जारी गरेको प्रेस विज्ञप्तिमा जनवादी केन्द्रीयताको सिद्धान्तलाई स्वीकार गर्ने, सैद्धान्तिक, राजनीतिक तथा सांगठानिक मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुविकरणका लागि आव्हान गरिएको छ ।
पार्टीको राष्ट्रिय सम्मेलनको तयारीमा रहेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकमा विभिन्न जनआन्दोलनले गम्भीर धक्का खाएको, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै गम्भीर बन्दै गएको र दक्षिणपन्थी संशोधनवाद अत्यन्तै प्रभावी रहेको अहिलेको अवस्थामा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको आवश्यकतामाथि ध्यान दिँदै एकता आव्हान गरेको जनाइएको छ ।
अध्यक्ष किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दशवर्षको जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरुले गम्भीर धक्का खाएको, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै गम्भीर बन्दै गएको र दक्षिणपन्थी संशोधनवाद अत्यन्तै प्रभावी रहेको अहिलेको स्थितिमा एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यमाथि आवश्यक ध्यान दिंदै क) माक्र्सवाद–लेनिनवाद–माओवाद अवलम्बन गर्ने, ख) नयाँ जनवादी क्रान्तिको कार्य्दिशा स्वीकार गर्ने, ग) क्रान्तिमा बलप्रयोगको सिद्धान्तलाई मान्ने, घ) वर्तमान पश्चगामी संविधानलाई अस्वीकार गर्ने, ङ) वर्तमान सत्ता तथा व्यवस्थाको मन्त्रीपरिषद्मा नरहने र च) जनवादी–केन्द्रीयताको सिद्धान्तलाई सवीकार गर्ने सैद्धान्तिक, राजनीतिक तथा सांगठानिक मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आव्हान गर्ने निर्णय लिइएको छ ।’
यहि असार २५ देखि ३० गतेसम्म बसेको बैठकले यही असोजको चौथो सातामा आयोजना गरिएको राष्ट्रिय सम्मेलनको तयारीका लागि अध्यक्ष किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र तथा नेपाली समाजको स्वरुप तथा पार्टीको आम कार्य्दिशा– शीर्षक रहेका दुई राजनीतिक प्रस्ताव तथा नेता राम सिंह श्रीसद्वारा प्रस्तुत पार्टी विधान सम्बन्धी प्रस्ताव प्रस्तुतको मूल प्रवृत्ति तथा स्प्रिटलाई स्वीकार पारित गरेको छ ।
सो प्रस्तावमा देश अर्ध सामन्ती, अर्ध औपनिवेशिक तथा नव औपनिवेशिक अवस्थामा रहेको स्थितिमा नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको र समाजवाद हुँदै साम्यवादमा जाने पार्टीको लक्ष्य रहेको उल्लेख गरिएको छ ।यसैगरी सो पार्टीले स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुलाई समर्थन गर्ने निर्णय सही भएको र अपेक्षकृत परिणाम नआउनु स्वभाविक रहेको समेत जनाएको छ ।
अध्यक्ष किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चुनावमा प्रतिक्रियावादी तथा संसदवादी राजनीतिक दलहरुबाट एकातिर अनेकौं विकृति, विसंगति तथा धाँधली भएका छन् भने अर्को्तिर उनीहरुले आफ्ना राजनीतिक एजेण्डाहरुलाई तिलाञ्जली दिएर आपसमा विभिन्न रुपमा अपवित्र तालमेल गर्न पुगेका छन् । यसलाई वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको राजनीतिक पहिचानको संकटको रुपमा लिनु पर्दछ ।’ मुलबाटोबाट साभार