गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या ८ पुग्यो

1346
views

दार्जिलिङ ३, श्रावण । पश्चिम बंगालको नेपाल–भारत सीमावर्ती मिरिक बजारमा सोमबार राति भारतीय अर्धसैनिक बल सिआरपीएफको गोलीबाट गोर्खाल्याण्ड पक्षधर एक जनाको ज्यान गएको छ । गोर्खाल्याण्डको पक्षधर गोर्खा जनमुक्ति मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडप हुन खोज्दा सिआरपीएफले चलाएको गोलीबाट मिरिकको मकरजुङ गाउँका ४५ बर्षीय आशिष तामाङको मृत्यु भएको स्थानीय पत्रकार मनोहर शर्माले जानकारी दिनुभयो ।
घटनामा पाँच जना भन्दा बढी घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारकालागि दार्जिलिङ लगिएको छ भने केहीको मिरिक अस्पतालमा उपचार भइरहेको शर्माले बताउनुभयो । दिउँसो मिरिक नगरपालिका वाड न ५ कृष्ण नगरको प्रहरी बुथमा अज्ञात समूहले आगजनी गरेपछि मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडपको अवस्था सिर्जना भएको थियो । दुवै समूहले एक अर्कालाई आगजनीको आरोप लगाएका थिए । साँझ आगजनीको विरोधमा गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटिमा आवद्ध दलका कार्यकर्ताले निकालेर्को यालीमा सहभागी र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडप हुन लागेपछि शुरक्षाकर्मीले हस्तक्षेप गर्दा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनापछि मिरिकमा शुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि शुरक्षाकर्मीको गोलीबाट ७ जना सर्वसाधारणको मृत्यु भैसकको छ । असार २ गते राति सडकमा हिडिरहेका टासी भुटियाको शुरक्षाकर्मीको गोलिबाट मृत्यु भएको थियो । सुरज सुन्दास, समीर गुरुङको असार २४ गते, सोही घटनामा घाइते भएका अशोक तामाङ (उपचारको क्रममा) विमल गजमेर, सुनिल राई र महेश गुरुङको असार ३ गते प्रहरीको गोलीबाट मृत्यु भइसकेको छ ।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले यसअघि नै शुरक्षा कर्मीको दमनको स्वतन्त्र सिविआई जाँच गर्न माग गर्नु भएको छ । उहाँले पछिल्ला घटनालाई मानव अधिकार विरुद्धको कदम भन्दै कडा शब्दमा आलोचना गर्नुभएको छ ।