शिक्षक मृत्यु प्रकरणको थप अनुसन्धान सिआईबीले गर्ने

788
views

नवदृष्टि संवाददाता
पर्वत, ३, श्रावण । पर्वतमा शिक्षक मृत्यु प्रकरणको घटना अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्वतले (केन्द्रिय अनुसन्धान ब्युरो) सिआईबीको सहयोग मागेको छ । आईबल एकेडेमीमा अध्यापनरत शिक्षक नारायण पौडेल मृत्यु प्रकरणको थप अनुसन्धानका लागि सिआईबीको माग गरिएको प्रहरी नायव उपरिक्षक शेखर खनालले बताए । खनालले भने ‘मृत्यु प्रकरणको अन्ुसन्धान भैरहेको अवस्थामा थप सर्पोटका लागि केन्द्रिय अनुसधान ब्युरोको टोली बोलाइएको हो ।’ अहिले सिआईबीको सहयोग प्राप्त छ, तर टोली आईसकेको छैन् । घटना सम्बन्धी प्रमाण जुटाउने काम भैरहेको छ ।
कुश्मा– १ पाङ घर भएका शिक्षक नारायण पौडेलको शव बाग्लुङको जैमिनी नगरपालिका बेलबगरस्थित कालीगण्डकी किनारमा भेटिएको थियो । बेबारिसे अवस्थामा भेटिएको शव शिक्षक पौडेलको डिएनए परीक्षणबाट समेत पुष्टि भई उक्त शवलाई परिवारले धार्मिक परम्परा अनुसार दाहसंस्कार र काजक्रिया समेत गरिसकेका छन् । घाँटीमा लागेको चोटका कारण मृत्यु भएको रिपोर्ट पोस्टमार्टमबाट आएपछि उनको हत्या नै भएको आफन्तले बताउँदै आएका छन् । शिक्षक मृत्युप्रकरणका बारेमा विभिन्न शिक्षक संगठनले संयुक्त विज्ञप्ति निकालेर तत्काल अनुसन्धानलाई तीव्रता दिन प्रहरीलाई दबाब दिएका छन् । प्रहरीले शिक्षक पौडेलले पढाउँदै आएको आइबल एकेडेमीका प्रिन्सिपल विमल पौडेल, अभिभावकहरु देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।