काठमाडौं, ४, साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारको लागि गृहकार्य तिब्र पारेका छन्। चालिस दिन अघि गठन भएको आठ सदस्यीय मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवाले गृहकार्यलाई तिव्रता दिएसँगै मन्त्रालय वाँडफाँटमा प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग सहमति जुटेको छ। सरकारमा कांग्रेसलाई १३, माओवादी केन्द्रलाई नौं मन्त्रालय दिने सहमति भएको हो। यसअघि दुई दलबीच नेपाल लोकतान्त्रिक फोरमलाई तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चार र साना दललाई दुई मन्त्रालय दिने सहमति भएको थियो। कांग्रेसभित्रको आन्तरिक गुटको व्यवस्थापन गर्न सकस परेको भन्दै कांग्रेसले सत्ता गठबन्धन माओवादीलाई आठ वटा मात्र लिएर कांग्रेसलाई एक थप गरी १२ मन्त्रालय दिन आग्रह गरेको थियो। कांग्रेसको आग्रह बमोजिम माओवादीले ८ वटा मन्त्रालय मात्र लिन असहमति जनाए पछि मन्त्रालय वाँडफाँट गर्दा कांग्रेसलाई १३ र माओवादीलाई नौं वटा दिने सहमति भएको हो। मन्त्रालय वाँडफाँडको बिषयमा सहमति गर्न कांग्रेसले नेता बिमलेन्द्र निधि र रमेश लेखक तथा माओवादी केन्द्रले उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता बर्षमान पुन संलग्न रहेको कार्यदल गठन गरेको थियो।
सोही कार्यदलले यस्तो सहमति गरेको लेखकले वताए। २९ वटा मन्त्रालयमा कांग्रेसले प्रधानमन्त्रीसहति १३ र माओवादीले उपप्रधानमन्त्री सहित नौं मन्त्रालय लिएपछि अन्य दललाई कति मन्त्रालय दिने भन्ने बिषयमा भने सहमति जुट्न सकेको छैन। मन्त्रिपरिषद् विस्तार हुनु अघि कांग्रेस र माओवादी केन्द्रले राजपाका नेतासँग छलफल गर्ने भएका छन्। राष्ट्रिय जनता पार्टीलाई आगामी असोज दुई गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउन संविधान संशोधनको गृहकार्यमा जुट्दा मन्त्रिपरिषद् विस्तार ढिलाई भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले वताए। प्रमुख प्रतिपक्षी एमाले संशोधनको विपक्षमा उभिने अडान लिँदा संविधान संशोधन विधेयक पास नहुने संकेत देखिदा सरकार त्यसबाट पछि हटेको थियो।