मन्त्रिपरिषद् विस्तार आज, जोशीको सट्टा श्रेष्ठ

548
views

काठमाण्डौ, ११, श्रावण । नेपाली कांग्रेसबाट मन्त्री हुनेको सूचीमा पर्वतका अर्जुन जोशीको सट्टा गोरखाका चिनकाजी श्रेष्ठको नाम राखिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट मन्त्री हुने चार जनामा यसअिघ समानुपातिक सांसदहरु अम्बिका बिष्ट र मीन विश्वकर्मा तथा प्रत्यक्ष निर्वा्चित बीरबहादुर बलायर (डोटी) र अर्जुन जोशी (पर्वत) थिए । जोशीको नामबारे भने बुधबार बिहान मात्रै अन्तिम निर्णय हुने बताइएको थियो । स्रोतका अनुसार मंगलबार बेलुकी नै यसबारे अन्तिम टुंगो लगाउँदै उनको सट्टा पार्टीका प्रमुख सचेतक श्रेष्ठलाई मन्त्री बनाउने निर्णय भएको हो । आज हुने मन्त्रिपरिषद् विस्तारमा कांग्रेस तर्फबाट १० जना मन्त्री हुने भएका छन्। कांग्रेस स्रोतका अनसार सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ४ र ४ जना मन्त्री हुने छन् भने नेताहरु कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समूहबाट १ र १ जना मन्त्री हुन लागेका छन् । पौडेल पक्षबाट यज्ञबहादुर थापा (कास्की), सञ्जय गौतम (बर्दिया), राजन केसी (काठमाडौं) र रामकृष्ण यादव (धनुषा) को नाम टुंगो लागेको छ । नेता कृष्ण सिटौलाको समूहबाट काठमाडौं–६ का सांसद भीमसेनदास प्रधान र खुमबहादुर खड्का समूहबाट सिन्धुपाल्चोकका सांसद मोहन बस्नेत मन्त्री हुने टुंगो लागेको हो ।
सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ। कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् । कांग्रेसका १० जना र माओवादीका ६ जना नयाँ सदस्यलाई मन्त्री पदमा नियुक्त गरी आज पद तथा गोपनियताको सपथ दिलाउने भएका छन् । नेपाली कांग्रेसले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सहित अर्थ, श्रम तथा रोजगार, शिक्षा मन्त्रालयको सम्हालिरहेको छ ।