काठमाण्डौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि ३० दिनभित्र दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।आयोगले सूचना निकालेर भदौ ११ गतेसम्ममा दल दर्ता गराउन राजनीतिक दललाई आह्वान गरेको हो ।
संविधानको धारा २७१ अनुसार राजनीतिक दलको रूपमा चुनावका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।आगामी माघ ७ गतेभित्र हुने भनिएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा भाग लिन चाहने राजनीतिक दलले आयोगमा फेरि दल दर्ता गराउनुपर्ने हुन्छ ।
दल दर्ताका लागि निवेदन दिँदा दलहरूले आर्थिक वर्ष २०७३÷०७४ को आर्थिक आयव्ययको लेखा परीक्षण प्रतिवेदनसमेत संलग्न गर्नुपर्नेछ । यसैगरी चुनावमा कुन कुन जिल्लामा भाग लिने भन्ने पनि खुलाउनुपर्नेछ । दलहरूले दलको झण्डा र चुनाव चिन्हसमेत माग गरेर निवेदन दर्ता गराउनु पर्नेछ ।
संविधानले राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने, राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक दलका संघीय र प्रदेश तहका हरेक पदाधिकारीको चुनाव हुने व्यवस्था हुनुपर्ने व्यवस्था गरेको छ ।
यसैगरी दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिविम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने, कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने त्यस्तो राजनीतिक दल दर्ता नहुने व्यवस्था संविधानमा छ । निवेदनको ढाँचा आयोगको वेबसाइट बाट डाउनलोड गर्न सकिनेछ ।










