चीनको कडा चेतावनीपछि भारतले चिनियाँ क्षेत्रबाट सेना फिर्ता गर्‍यो

627
views

एजेन्सी श्रावण १९ भारतले चीनसँगको सीमा क्षेत्रमा तैनाथ गरेका सैनिक फिर्ता गरेको छ ।
चीनले डोकलाम विवादलाई लिएर उत्पन्न तनाव अन्त्यका लागि भारतले बिनाशर्त सैनिक फिर्ता गर्नुपर्ने अडान राख्दै आएको थियो ।
चीनले सो क्षेत्रमा भारतले ठूलो संख्यामा सेनालाई फिर्ता लगेको दाबी गरेको हो । करिब ४ सयको संख्यामा भारतीय सेना रहँदै आएको हाल ४० जनामात्र तैनाथ रहेको चीनको भनाई छ ।
चीनले तीन दिनअघि चिनियाँ जनमुक्ति सेनाको ९० औं स्थापना दिवसको अवसरमा आयोजित विशाल सैन्य प्रदर्शनीपछि चीनले आफ्नो सार्वभौमिकताको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताएको थियो ।
चिनियाँ विदेशमन्त्रालयले १५ पृष्ठ लामो दस्तावेज जारी गर्दै भनेको छ, ‘डोंग लाङ्ग’ ९डोकलाम० क्षेत्रमा सुरुमा ४ सय भारतीय सैनिक रहेकोमा हाल घटाएर ४० मा सीमित गरिएको छ ।’
चिनियाँ दस्तावेजमा भनिएको छ, ‘१६ जुन २०१७ मा चीनले डोंग लाङ्ग क्षेत्रमा सडक बनाइरहेको थियो । १८ जुनमा २७० भन्दा बढी भारतीय सैनिक हतियार र बुल्डोजरसहित सिक्किम सेक्टरबाट सीमा क्षेत्रमा आए । भारतीय सेना सडक बनाउने काममा अवरोध गर्न चिनियाँ
क्षेत्रको १ सय मिटरसम्म प्रवेश गरेका थिए । एक समय त्यहाँ भारतीय सैनिकको संख्या ४ सय पुगेको थियो ।’
भारतले भने ६ सातादेखि सो क्षेत्रमा आफ्नो ३ सय ५० सैनिक तैनाथ रहँदै आएको दावी गरेको छ ।
चीन र भुटानबीचको विवादित क्षेत्र डोकलामा चिनियाँ पक्षले सडक निर्माण गरिरहेका बेला भारतीय सेना सीमा क्षेत्रमा गएर अवरोध खडा गरेपछि दुई देशबीच तनाव बढ्दो अवस्थामा छ ।
विज्ञप्तिमा चीनले भुटानको बहाना बनाएर भारतले चिनियाँ भूमिमाथि दाबी गर्न खोजेको आरोप लगाएको छ । चीन, भारत र भुटानको त्रिदेशीय सीमा क्षेत्र डोकलामामा निर्माणाधिन सडकले भारतलाई सुरक्षा चुनौती थप्ने भनाईको पनि चीनले प्रतिवाद गरेको छ ।
‘सुरक्षा चिन्ताको नाममा छिमेकी देशको सीमाभित्र घुसेर कुनै पनि गतिविधि गर्नुले अन्तर्रा्ष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय सम्वन्ध परिचालन गर्ने आधारभूत मान्यताहरुको उल्लंघन गरेको छ ।’
चीनले केही दिनअघि भारतीय सुरक्षा सल्लाहकार अजित डोभालको चीन भ्रमणका क्रममा डोकलाम विवाद भन्दा पनि ब्रिक्स सहयोग र दुई देशबीचको सम्बन्धका बारेमा मात्रै कुराकानी भएको जनाएको छ ।
चीनले भारतलाई चीनको सम्प्रभुता, अन्तर्राष्ट्रिय कानुन र छिमेकीसँगको सम्बन्ध सञ्चालन गर्ने आधारभूत नियमको पालना गर्न समेत भारतलाई आग्रह गरेको छ ।