राजपा नेपालमा चर्कियो विवाद, असोज २ को चुनावमा सहभागी हुने नहुने विषयमा प्रतिष्पर्धा

660
views

काठमाडौं–दुईसमयमा विभाजित राजपा नेपालले असोज २ गते हुने स्थानीय तहको चुनावमा भाग लिने कि नलिने विषयमा पार्टीभित्र चर्को बहस चलिरहेको छ । बैशाख ७ गते छवटा मधेशी दल मिलेर बनेको राजपा नेपाल चुनावको पक्ष तथा विपक्षमा दुईटा समूह प्रष्ट देखिएपछि पार्टीभित्रको आन्तरीक विवाद चुलिदै गएको छ । राजपा अध्यक्ष मण्डलमा रहेका छ जना अध्यक्षमध्ये चारजना चुनावको विपक्षमा र दुईजना चुनावको पक्षमा देखिएका छन् । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा र राजकिशोर यादव पक्षका पदाधिकारीहरुले चुनावमा जान नहुने धारणा राखिरहेका छन् भने अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी र महेन्द्रराय यादव पक्षका पदाधिकारीहरुले चुनावमा जानुपर्ने धारणा राखिरहेका छन् ।
साउन १८ गतेदेखि शुरु भएको पदाधिकारी बैठकमा राजपा नेपालका संयोजक महन्थ ठाकुरले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा माग पूरा नभएसम्म चुनावमा जान नहुने कुरा उल्लेख गरेका छन् । बैठकमा हिजो शुक्रवारसम्ममा ७४ जनाले आफ्नो धारणा राखि सकेका छन् । त्यसमध्ये लगभग ७५ प्रतिशतले चुनावमा जान नहुने सुझाव दिएका थिए भने अरुले चुनावमा जानुपर्छ भनि सुझाव दिएका थिए ।
राजपा नेपालका एक नेताका अनुसार बैठकमा चुनावमा सहभागि हुने नहुने विषयमा नेताहरुबीच प्रतिस्पर्धा नै हुने गरेको छ । यतिसम्मकी चुनावको पक्ष र विपक्षमा भएकाले बैठकमा आउनुअघि आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएर पठाएका हुन्छन् । सोहि अनुसार बैठकमा धारणा राख्ने गरेका छन् ।
स्रोतका अनुसार राजेन्द्र महतोले आफ्ना पुरानो पार्टी सद्भावना पार्टीमा रहेका नेता तथा कार्यकर्तालाई बैठकमा चुनावमा जान नहुने धारणा नराख्न निर्देशन दिएका छन् भने महन्थ ठाकुरले पनि आफ्ना पूराना दल तमलोपाका नेताहरुलाई पनि त्यस्तै भनेका छन् । त्यस्तै अनिल कुमार झाले नेपाल सद्भावना पार्टी र राजकिशोर यादवले मधेशी जनअधिकार फोरम गणतान्त्रिकका नेताहरुलाई त्यसरी नै प्रशिक्षण दिएको बताइन्छ ।
यता शरतसिह भण्डारीले आफ्ना पुराना पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टीका नेताहरुलाई र महेन्द्रराय यादवले तराई मधेश सद्भावना पार्टीका नेताहरुलाई पनि चुनावको पक्षमा धारणा राख्न निर्देशन दिएको बताइएको छ ।
एकिकरण पूर्व सदभावना पार्टीका महासचि अजय गुप्ताले भने चुनावमा जानुपर्ने धारणा प्रष्ट रुपमा राखेका छन् । त्यस्तै सोही समूहका अर्का महासचिव जंगीलाल राय यादवले पनि चुनावमै जानका लागि सुझाव दिएका थिए ।
यता चुनावको पक्षमा वकालत गर्ने महेन्द्र र शरत समूहका केही नेताले पनि चुनावको विरोध गरेका छन् । उपाध्यक्ष रानी शर्मा तिवारी, वरिष्ठ नेता रामनरेश राय यादव, जेपी यादवलगायतका नेताहरुले माग पूरा नभएसम्म चुनावमा जान नहुने तर्क गरेका थिए ।
महासचिव जितेन्द्र सोनलले चुनावको बारेमा मिश्रित प्रतिकृया आएको बताउँदै चुनावमा जान नहुने पक्षका नेताहरु बढी देखिएको दावी दावी गरे । अर्का महासचिव केशव झाले बैठकमा बोल्ने अधिकाँश नेताहरुले चुनावमा जानुपर्ने सुझाव दिएको दावी गरे ।