चार्ज गरेको मोवाईल निकाल्दा करेण्ट लागेर पोखरामा एकको मृत्यु

754
views

कास्की २४ साउन । पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ घार्मीका अन्दाजी ३० वर्षीय युवक सन्तोष सुनारको चार्ज गरिरहेको मोवाइल चार्जर निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
२३ गते बिहान साढे ९ बजे घरको आफू सुत्ने कोठामा चार्ज गरिरहेको मोबाइल चार्जर निकाल्ने क्रममा सुनारलाई एक्कासी करेन्ट लागेको प्रहरीले बताएको छ । चार्जर निकाल्ने क्रममा विद्युतको तार सट भएर करेन्ट लागेको प्रहरीको अनुमान छ ।
करेन्ट लागेर बेहोस् भएर ढलेका उनलाई तत्कालै उद्धार गरेर पोखरा गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटल ल्याइएपनि चिकित्सकले तत्कालै मृत घोषणा गरेको आफन्त जितबहादुर सुनारले जानकारी दिए । मृतक सुनारको दुबै खुट्टाको पैताला र दाहिने हातको हत्केलामा जलेको टाटो समेत रहेको आफन्त जितबहादुरले बताए ।गरिब परिवारका मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन् । सुनार करिब एक दशक कतारमा हाउस वायरिङ सम्बन्धी काम गरेर स्वदेश फर्किएका थिए । उनले पछिल्लो क्रममा गाउँघर तथा बजारमा समेत हाउस वायरिङको काम गर्दै आएका थिए ।