देशभरका पेट्रोलपम्पहरु बन्द गर्ने व्यवसायीहरुको चेतावनी

653
views

पोखरा, २४, श्रावण । पेट्रोलियम पदार्थको व्यवसाय गर्दै आएका पेट्रोलियम व्यवसायीहरुले आफुहरुले राखेका मागहरु पुरा नभए साउन ३१ गते देखि देशभरका पेट्रोल पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनले पोखरामा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् । व्यावसायिहरुले लस र वर्किङ लसको कारण व्यवसायीहरुले घाटा व्यहोनु परेको समेत बताए ।
नापतौल तथा गुणस्तर विभागको प्रतिनिधि समेत संलग्न नेपाल आयल निगमले बनाएको कार्यदलले पोखरामा ७० लिटर पेट्रोल, ४४ लिटर डिजेल, बाग्लुङमा ९० लिटर पेट्रोल, ५४ लिटर डिजेल, स्याङ्जामा ८० लिटर पेट्रोल र ५२ लिटर डिजेल प्रति चार हजार लिटरमा नपुग रहेको प्रतिवेदन बुझाए पनि लस हुने देखाए पनि निगमले कुनै वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको आन्दोलन समितिका संयोजक जगत बरालले बताए ।
अहिले निगमले प्रति ४ हजार लिटरमा पेट्रेल ३५ लिटर र डिजेल २४ लिटर दिदै आएको व्यवसायीहरुको भनाई छ । पछिल्लो ८ महिना नेपालमा युरो फोर मापदण्डको पेट्रोलीयम पदार्थ आएपछि पछि लस हुन थालेको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष सुशिल गौचनले बताए ।
व्यवसायीहरुका अनुसार साउन २६ गतेदेखि बिक्रि केन्द्रहरुबाट समस्या समाधान नभएसम्म पेट्रोल खरिद नगर्ने, २९ गतेबाट पेट्रोल र डिजेल दुवै खरिद नगर्ने, ३० गते सम्ममा मौज्दात बिक्रि गरि ३१ गतेबाट पेट्रोल पम्प पुर्णरुपमा बन्द गर्ने गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिब राजन गौंगजुले बताए ।
गण्डकी धौलागिरीमा दैनिक करिब १ लाख लिटर पेट्रोल र २ लाख लिटर डिजेल खपत हुने गर्दछ । यो क्षेत्रका लागि पोखरा लेखनाथ महानगर पालिकाको गगनगौडा डिपोको क्षमता ३ लाख ६० हजार लिटर पेट्रोल र २२ लाख ४० हजार लिटर डिजेलको क्षमता रहेको छ । गण्डकी धौलागिरीमा ५४ वटा पेट्रोल पम्प छन् भने कास्कीमा मात्रै ३६ वटा रहेका छन् ।