दिवंगत भएकाको सम्झनामा सापारु जात्राको रौनक (फोटोफिचर)

939
views

भक्तपुर, २४, श्रावण । उपत्यका लगायत नेपाल भाषीको सघन बसोबास रहेका ठाउँहरुमा मंगलबार सापारु (गाईजात्रा) भव्यतासाथ मनाइएको छ । नेपालभाषी समुदायले सापारुलाई मृत्यु संस्कारसँग सम्बन्धित पर्वका रूपमा मनाउँछन् । वर्षभरि दिवंगत भएकाको सम्मान तथा सम्झनामा भदौ शुक्ल प्रतिपदाको दिन गाईको प्रतीक बनाई आ-आफ्नो नगर परिक्रमा गराइन्छ । धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एक दिन मात्र यमलोकको ढोका खुला हुने जनविश्वास छ। यही विश्वासका साथ गाईजात्रा मनाइन्छ । यस दिन गाईको प्रतीक तहा साँ वा जिउँदो गाईलाई नै नगर परिक्रमा गराइन्छ । धार्मिक ग्रन्थ तथा किवंदन्तीअनुसार गाईजात्राको दिन गाईले टेकेको एक पाइला बराबर एक अश्वमेघ यज्ञको फल प्राप्त हुने जनविश्वास छ । नेपालभाषीले यस दिन गाईको प्रतीक तहा साँ बनाउनुअघि मृतकको नाममा पुरोहितले विधिपूर्वक पूजाआजा सम्पन्न गर्छन्। पुरोहितले पूजाकै क्रममा गाईको प्रतीक बनाउन लगाउँछन् र तयार भएको गाई आ(आफ्नो क्षेत्रको सम्बन्धित एवं निश्चित क्षेत्रमा परिक्रमा गराइन्छ। काठमाडौं उपत्यकामध्ये भक्तपुरमा यो गाईजात्रा नौ दिनसम्म मनाइन्छ। त्यसैले यसलाई स्थानीय नेपालभाषामा गुन्हु पुन्ही (नौदिने पूर्णिमा) समेत भनिन्छ ।
हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मंगलबार ललितपुरमा नेवार समुदाय गाईजात्रा पर्व मनाउँदै । गाईको प्रतीक प्रदर्शन सँगसँगै विशेष किसिमको संगीतको तालमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाच्नु भक्तपुरको गाईजात्राको विशेष आकर्षण हो।मृतक महिला, पुरुष र बच्चाको आधारमा भक्तपुरे गाईको प्रतीक बनाउँछन्। गाईको चित्र छापिएको छापा, परालले बनाइएको एकजोडा सिङ, चवरको पंखा, छाता, विभिन्न फूल र कागजबाट बनाइएका सिंगार्ने वस्तुले सजाइदिएर केटा भए सेतो वा अन्य रंगको नयाँ कपडा र केटी भए हाकुपतासी (छेउमा रातो धर्सो भएको कालो रंगको सारी) वा सारीले बेरेर गाईको प्रतीक बनाइन्छ । जसमा उमेरअनुसार डोक साँ र ताहा साँ बनाइन्छ । यसरी डोकसाँ र ताहासाँ तयार भएपछि घरको मूलढोका अगाडि पुरोहित वा ब्राह्मणले मृतकको क्रिया गर्ने क्रियापुत्रलाई संकल्प गराई विधिबमोजिम पूजा गरेपछि त्यसलाई नगर परिक्रमा गर्न पठाइन्छ । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मंगलबार ललितपुरमा नेवार समुदायले धुमधामका साथ गाईजात्रा पर्व मनाउँदै ।