पार्टीभित्र अन्तरघात गरेको भन्दै पूर्वराज्यमन्त्री सहित ७ नेता काँग्रेसबाट निष्काशित, २१ जना नेतालाई कारबाही

558
views

रुकुम २४, साउन स्थानीय तहको चुनावमा पार्टीका उम्मेदवारलाई हराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै रुकुमले पूर्वराज्यमन्त्री एवं सांसद मीठु मल्लसहित २१ जना नेतालाई कारबाही गरेको छ ।
स्थानीय तहको निर्वाचनको समीक्षाका लागि बसेको स्थानीय तहका उम्मेदवार, क्षेत्रीय कार्य समिति, भातृ संघ संगठनका पदाधिकारीसहितको भेलाले सांसद मल्लसहित ७ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ भने १४ जनालाई थप स्पस्टीकरण मागेको छ ।
जिल्ला पार्टीले गठन गरेको अनुशासन विभागको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसद मल्ल, जिल्ला सचिव जनककुमार चन्द, जिल्ला कार्यसमिति सदस्य विष्णुप्रकाश खडा, निर्वाचन क्षेत्र नम्वर १ का सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्य, टेकबहादुर पुन, बालकृष्ण भाटलाई पार्टीबाट निस्कासन गरिएको हो । थप स्पस्टीकरण सोधिएका १४ जनाले ३ दिन भित्र जिल्ला कार्य समितिलाई लिखित स्पष्टीकरण दिनुपर्ने छ । उनीहरुको स्पस्टीकरणको आधारमा आवश्यक कारबाही गर्ने निर्णय जिल्ला कार्यसमितिले गरेको छ ।
सांसद मीठु मल्ल १ नम्वर क्षेत्रीय सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि टेकबहादुर पुनलाई मुसीकोट नगरपालिकाका मेयरका उम्मेदवार महेन्द्र केसीलाई हराउनमा भूमिका खेलेको आरोप लगाइएको छ । यसैगरी जिल्ला सचिव जनक चन्दलाई बाँफिकोट गाउँपालिका–१० नम्वर वडाध्यक्ष सहितका उम्मेदवारलाई हराएको आरोप छ । क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्यलाई पार्टीको अनुशासन उल्लंघन तथा चौरजहारी नगरपालिकाका मेयरका उम्मेदवार बलवीर गोसाईलाई हराउन सहयोगी भएको आरोप छ ।