यसरी बने बेलायती फुटबलर भगवान् शिवका भक्त’

650
views

लन्डन २७ साउन इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु हुँदैछ । शुक्रबार हुने पहिलो खेलमा गत सिजन तालिकाको पाँचौं स्थानमा रहेको आर्सनलले लेस्टर सिटीको सामना गर्दैछ । लन्डनको इमिरेट्स मैदानमा हुने सिजनको पहिलो खेलका लागि आर्सनल र लेस्टरका खेलाडीका साथै सारा फुटबलप्रेमी उत्साहित भइरहँदा आर्सनलका फुटबलर थेओ वाल्कट भने फरक कारणले अहिले चर्चामा छन् ।
चेल्सी छाडेर आर्सनलमा आबद्ध भएका २८ वर्षीय बेलायती फुटबलर वाल्कट खेलका लागि नभई आफ्नो शरीरमा कुँदेको टाटुका कारण चर्चामा छन् । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुनै लाग्दा उनले आफ्नो ढाडमा ‘ओम नमः शिवाय’ लेखिएको टाटु कोरे । त्यो टाटु ट्विटरमार्फत सार्वजनिक गरेपछि क्षणभरमै उनको चर्चा चुलियो ।
भगवान् शिवको भक्त भएको भन्दै उनी सामाजिक सञ्जालमा निकै छाइरहेका छन् । इङ्लिस प्रिमियर लिगको २६औं संस्करणमा आर्सनलको जितहारभन्दा पनि वाल्कटको टाटुका विषयमा कसले के प्रतिक्रिया दिए भन्ने चर्चाले यतिबेला इङ्लिस फुटबललाई तताएको छ । वाल्कटले कुँदेको टाटु सार्वजनिक भएपछि लाखौं हिन्दुहरूले उनीप्रति सद्भाव दर्शाएका छन् ।
सामाजिक सञ्जालमा उनको चारैतिर प्रशंसा गरिएको छ । उनले टाटुसँगै ‘आफ्नो दिल खोल । डर, घृणा र जलनलाई स्थान नदेऊ । त्यसपछि मात्र कहिले पनि खत्तम नहुने खुसीको अनुभव गर्न सक्छौं’, भन्ने लेखेका छन् । उनले तस्बिरमा आफ्ना दुवै पाखुरामा पहिले नै बनाएको टाटु पनि प्रदर्शन गरेका छन् ।
पहिलेदेखि नै टाटुका सौखिन वाल्कटले केही समय पहिले दायाँ पाखुरामा संस्कृत भाषामा केही शब्द लेख्दै ट्विट गरेका थिए । १६ वर्षकै उमेरमा विश्वकप फुटबल खेलेका वाल्कट मिडफिल्डका सशक्त खेलाडी मानिन्छन् । उनले कम उमेरमै इङ्ल्यान्डबाट सन् २००६ को विश्वकप फुटबल खेलेका थिए ।