उत्तर कोरियाले प्रहार गर्न सक्ने जुनसुकै क्षेप्यास्त्रलाई खसालिदिने अमेरिकी योजना

1845
views

एजेन्सी , न्युयोर्क । उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमनजिक चारवटा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनीसँगै प्योङयाङ र वासिंगटनबीच तनाव चुलिएको छ । प्योङयाङको चेतावनीले गुआमवासीमा एक प्रकारको तरंग पैदा गरेको छ भने सम्भावित हमलालाई निस्तेज पार्न अमेरिकी सेनाले आन्तरिक रणनीति तीव्र पारेको छ । गुआमको समुद्रवरपर उत्तर कोरियाले प्रहार गर्न सक्ने जुनसुकै क्षेप्यास्त्रलाई खसालिदिने अमेरिकी योजना छ । सेन्टर फर न्यु अमेरिकन सेक्युरिटीका जेरी हेनड्रिक्सका अनुसार अमेरिकाले उत्तर कोरियाको आक्रमण विफल पार्न विभिन्न योजना बनाइरहेको छ । पूर्वपनडुब्बी क्याप्टेनसमेत रहेका हेनड्रिक्सका अनुसार उत्तरको प्रयास विफल पार्न जापानी र दक्षिण कोरियाका दुईवटा लडाकु विमानको सहयोगमा अमेरिकाको एफ–२२, एफ–३५र बी–२ विमानले गुआमको आकाशमा संयुक्त हवाई कारबाही गर्नेछन् ।
उत्तरको सम्भावित हमला निस्तेज पार्न क्षेप्यास्त्र प्रहार, लडाकु विमान र लन्चरद्वारा हमला, बम विस्फोटनदेखि उत्तर कोरियाको साइबर हमला गर्नेसम्मको अमेरिकी योजना
केही आक्रमणमा मानवरहित विमानको पनि प्रयोग हुनेछ । प्योङयाङ हमलाको संकेत पाउनेबित्तिकै अमेरिकाले गुआममा थप विमान पठाउनेछ । त्यस्तै, दक्षिण कोरियामा रहेका दुई हवाई आधारमध्ये ओसानमा एफ १६ फाइटर्स र ए १० ट्यांक किलर तथा कुनसानमा एफ–१६ एस पठाउनेछ ।
त्यस्तै, अमेरिकी लडाकु विमानले उत्तर कोरियाको क्षेप्यास्त्र, हवाई रक्षा प्रणालीलाई लक्षित गर्दै टोमाहक मिसाइल प्रहारगर्नेछन् । अमेरिकाले जापानस्थित आधारमा १० वटा मिसाइल क्रुजर र डेस्ट्रोअरलाई पनि सक्रिय पारेको छ । उत्तर कोरियाको आणविक कार्यक्रमलाई बिथोल्न अमेरिकाले प्योङयाङमा साइबर हमला गर्नेबारे पनि सोचिरहेको छ । तर, ती हमलाले उत्तरका आणविक कार्यक्रमलाई रोक्नेभन्दा पनि विलम्ब गरिदिनेछन् ।
अमेरिकाले आफूसँग पर्याप्त बम, क्षेप्यास्त्र, युद्ध विमान र प्रशस्त हतियार रहेको देखाउन खोजेको अमेरिकी कमान्डका संयुक्त गुप्तचर केन्द्रका पूर्व्निर्देशक कार्ल सुस्टर बताउँछन् ।
प्योङयाङको हमलाको संकेत पाउनेबित्तिकै अमेरिकाले गुआममा थप विमान पठाउनेछ, त्यस्तै दक्षिण कोरियामा रहेका दुई हवाई आधारमध्ये ओसानमा एफ १६ फाइटर्स र ए १० ट्यांक किलर तथा कुनसानमा एफ–१६ एस पठाउनेछ
उत्तरका क्षेप्यास्त्रलाई अमेरिकी प्रविधिले खसालिदिन्छ भनेर ढुक्क हुने स्थिति नभएको विज्ञ बताउँछन् । उत्तरका मिसाइलाई निस्तेज गर्न अमेरिकीसेनाले थाड र लन्चरहरूपनि प्रयोग गर्न सक्ने सेक्टर फर अमेरिकन प्रोग्रेस नामक अनुसन्धान समूहका एडम माउन्ट बताउँछन् । अमेरिकाले थाडलाई आफ्नो भूमिमा हुने क्षेप्यास्त्र हमालाई निस्तेज गर्ने मुख्य हतियार मानेको छ ।
सुरक्षा प्रणालीप्रति पूर्ण विश्वस्त छौँ
थाड संयन्त्रको प्रभावकारीप्रति आम अमेरिकीको विश्वास रहेको गुआमका सुरक्षा सल्लाहकार जर्ज चारफाउरोस बताउँछन् । ‘गुआम मात्र होइन, सम्पूर्ण अमेरिकाको रक्षा गर्न अमेरिकी सेना सक्षम छ,’ उनी भन्छन् । तर, अमेरिकी क्षेप्यास्त्र र अन्य हतियारले अमेरिकाको रक्षा गर्नेमा भने केहीको आशंका छ ।
‘क्षेप्यास्त्र हमला आफैँमा प्रयोग पनि हो । हामीले मिस गर्न पनि सक्छौँ,’ माउन्ट भन्छन् । तर, अमेरिकी मिसाइलले कोरियाको प्रहारलाई निस्तेज गर्न नसके अमेरिकी सेनाका लागि लाजमर्दो विषय हुने उनी बताउँछन् ।
दक्षिण कोरियाको थाडले सूचना दिनेछ
अमेरिकालेएक वर्षअघि दक्षिण कोरियामास्थापना गरेको थाडले गुआममा प्रहार गरेको क्षेप्यास्त्रलाई निस्तेज गर्ने छैन, तर राडरले क्षेप्यास्त्र प्रहार भएको जानाकारी तत्कालै अमेरिकी सेनालाई दिनेछ ।

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र गुआम नपुग्दै सूचना पाउने भएकाले अमेरिकी सेनाले सोहीबमोजिम आफ्ना क्षेप्यास्त्र प्रहार गर्नेछ । गुआममा पनि थाड प्रणाली जडान छ, जसले प्योङयाङबाट प्रहार भएका जुनसुकै क्षेप्यास्त्रलाई कम्जोर पारिदिन्छ ।‘शत्रुले एकैपटक एकभन्दा बढी प्रहार गरेको क्षेप्यास्त्रलाई निशाना बनाउनु थाड प्रणालीको उद्देश्य हो,’ माउन्ट भन्छन् । थाडले २ हजार किलोमिटर टाढासम्मको क्षेप्यास्त्रलाई सजिलै निशाना बनाउँछ ।
युद्धपोत विमान
उत्तरको आक्रमणलाई निस्तेज पार्न अमेरिकी सेनाले दर्जनौँ युद्धपोत विमान परिचालन गर्नेछ । सुरक्षा कबजसहितका ती विमानले लामोदूरीबाट आएका क्षेप्यास्त्रलाई पृथ्वीमा खस्नुभन्दा अगाडि नै खसालिदिन्छ ।
हवाई प्रशान्त विश्वविद्यालयका प्राध्यापक तथा अमेरिकी प्रशान्त कमान्डको संयुक्त गुप्तचर केन्द्रका पूर्व्निर्देशक कार्ल सुस्टरका अनुसार कडा सुरक्षा कबजसहितको एउटा विमानले दुईवटा क्षेप्यास्त्र खसालिदिन्छ । ‘अमेरिकाले गुआमनजिक त्यस्ता विमान तैनाथ गरेको हुन सक्छ,’ उनी भन्छन् ।
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई लक्षित गर्दै अमेरिकी सेनाले क्षेप्यास्त्र रक्षा प्रणालीलाई गत मे र जुलाईमा धेरैपटक परीक्षण गरेको छ । एकपटक गरिएको परीक्षण विफल भएको थियो ।
दक्षिण कोरिया र अमेरिकी सुरक्षा अधिकारीबीच वार्ता
दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको । उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका सुरक्षा सल्लाहकार र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारबीच फोनवार्ता भएको हो ।
उनीहरूबीच करिब ४० मिनेटसम्म वार्ता भएको थियो । वार्तामा कोरियाको सम्भावित हमलालाई निस्तेज पार्ने विषयमा दुई देशका सुरक्षा सल्लाहकारबीच छलफल भएको थियो ।
यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले चर्का अभिव्यक्ति जारी राखेमा अमेरिकाले सैनिक समाधानको उपाय खोज्ने चेतावनी दिएका थिए । अमेरिकालाई तर्साउने प्रक्रिया जारी राखेमा प्योङयाङले नराम्रो नतिजा भोग्नुपर्ने टम्पले चेतावनी दिएका थिए ।
‘एउटा क्षेप्यास्त्र खसाले उत्तरको विजय’
गुआममा चारवटा क्षेप्यास्त्र प्रहार गर्ने प्योङयाङको चेतावनीले अमेरिकी सेनालाई समस्यामा पारेको हवाई प्रशान्त विश्वविद्यालयका प्राध्यापक कार्ल सुस्टर बताउँछन् । ‘उत्तरको चेतावनीले अमेरिकी योजनाकारको रणनीति समस्यामा परेको छ,’ उनी भन्छन् ।
चारवटमध्ये एउटा मात्र क्षेप्यास्त्र अमेरिकी भूमिमा खस्यो भने उत्तरका लागि ठूलो विजय हुने उनी बताउँछन् । ‘एउटा मात्र क्षेप्यास्त्र खस्यो भने पनि अमेरिकाको सीमित क्षमता भएको र प्रतिरक्षा प्रणालीले काम गर्न नसकेको सन्देश अन्तर्रा्ष्ट्रिय समुदायमा जान्छ,’ उनी भन्छन् । अमेरिकाले क्षेप्यास्त्रलाई विफल बनाएको उत्तर कोरिया देख्न चाहेको सुस्टर बताउँछन् । क्षेप्यास्त्र रक्षा प्रणाली फेल खाए त्यसले भयानक ठूलो दुर्घटना निम्त्याउन सक्ने उनको बुझाइ छ । नयाँ पत्रिकाबाट