काठमाडौं, ३०, साउन । तीन सातादेखि अनशनरत वरिष्ठ चिकित्सक गाेविन्द केसीका मागलाई सम्बोधन गर्दै माथेमा आयोग अनुसार संसदमा रहेको चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गराउने सरकारी अभ्यासलाई प्रमुख प्रतिक्षी दल एमालेले रोक्ने तयारी गरिरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गोविन्द केसीको माग पुरा गर्ने निर्णय गरेपछि पनि त्यसलाई अघि बढ्न नदिन एमालेले संसद अवरोध समेत गर्ने तयारी गरेको स्रोतको दावी छ। यद्यपी, यसबारे एमाले नेताहरुले मुखै खोलेर केही भनेका छैनन्। ‘पार्टी्भित्र यसबारे अझै छलफल चलिरहेको छ’ एमालेका एक केन्द्रीय समस्यले भने, ‘कसैले अनशन नै बसेर नयाँ कानुन बनाउँछु भन्नु सिंगो संसदको अपमान हो कि होइन भन्ने वहस चलिरहेको छ।’
स्थायी समिति बैठकबाट ‘डा. केसीका मागलाई सरकारले छिटो सम्बोधन गरेर नैतिकता देखाओस्’ भन्दै सरकारलाई नै दवाव दिएको एमालेभित्र प्रस्तावित मनमोहन मेडिकल कलेजका अध्यक्ष तथा सांसद राजेन्द्र पाण्डे लगायतका नेताहरुले दबाव सृजना गरेपछि नेतृत्व पंक्तीका नेताहरु समेत केसी अनशनबारे मौन देखिएका हुन्।
प्रधानमन्त्री देउवाले विगत एक सातादेखि डा.केसीको माग नेपालको आम स्वास्थ्य क्षेत्रको सुधारको लागि जायज भएको भन्दै सोही अनुसार चिकित्सा शिक्षा ऐन अघि बढाउने निर्णय गरेका छन्। तर एमालेले भने कानुन अनुसार सहकारी अस्पताल र मेडिकल कलेजनै चलाउन नपाउने हुदाहुदै पनि पार्टीको नेता तथा कार्यकर्ताको लगानीमा मनमोहन मेडिकल कलेजलाई कुनै पनि हालतमा अनुमति लिएरै छाड्न अनशन तोड्न नदिने रणनीति बनाएको हो। ‘प्रधानमन्त्रीले डा.केसीको अनशन तोडाउने पक्षमा पुगेको पाइयो तर एमाले यसबारे उदासीन देखियो’ केसीको अनशन तोडाउन प्रयाशरत एक मानवअधिकारवादीले भने। प्रधानमन्त्री देउवाले केसीको अनशन तोडाउन प्रमुख दलका शिर्ष नेताहरुको बैठक राखेर छलफल गर्नेदेखि सरकारी र केसीका वार्ता टोलीका साथै संसदको समितिसँग पटक पटक छलफल गर्दै आएका छन्।