शान्ति सुरक्षाको प्रबन्ध मिलाउन गृहलाई आयोगको निर्देशन

685
views

काठमाण्डौ, ३, भदौ ।
आसन्न अशोज २ गते घोषित दोस्रो चुनावका लागि प्रदेश नं २ अन्र्तगतका आठ जिल्लाका १३६ स्थानीय तहमा सुरक्षा प्रवन्ध मिलाउन निर्वाचन आयोगले गृहलाई निर्देशन दिएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माले बताए । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोग बैठकले निर्वाचनका समयमा कुनै विष्फोटक पदार्थ वा रासायनिक पदार्थ वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
अनुमति प्राप्त व्यक्तिका नाममा रहेका बन्दूक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्था मिलाउन तथा निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन र बिक्री वितरण कार्यमा पूर्ण बन्देज गर्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई भनेको छ । आयोगले निर्वाचन बिथोल्न सक्ने आपराधिक चरित्रका शंकास्पद व्यक्तिलाई केही सार्वजनिक (अपराध र सजाय) ऐनबमोजिम प्रहरी निगरानीमा राखी आवश्यकतानुसार नियन्त्रण गर्न पनि सरकारलाई निर्देशन दिएको प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।