विद्युत महशुल तिर्न अनलाइन भुक्तानी सेवा

1356
views

काठमाण्डौ, ५, भदौ । नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट महशुल तिर्नसक्ने व्यवस्था गरेको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सोमबार अनलाइन बिल भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन । ग्राहकले मोबाइल बैंकिङ सेवामार्फत मोबाइलबाट समेत आफु भएको ठाउँबाट महशुल तिर्न सक्ने प्रणली लागू गरेको हो । ग्राहकले प्रभु बैंक तथा इ सेवाका मोबाइल एप्प डाउनलोड गरी भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो महशुल तिर्न नजिकैको इ सेवा, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, हिमाल रेमिट, सिटी एक्सप्रेस, पे प्वाइन्ट नेपाल लगायतका संस्थाबाट बिना शुल्क महशुल तिर्नसक्ने व्यवस्था गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण र ती संस्थाका बीच महशुल भुक्तानीसम्बन्धी सहमतिपत्रमा समेत हस्ताक्षर भइसकेको प्रधिकरणले जनाएको छ । हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल क्लिरिङ हाउसबाट समेत महशुल तिर्न सक्ने व्यवस्था गरिने योजनामा प्राधिकरण रहेको छ ।
ऊर्जामन्त्री शाहीले आगामी डेढ महिनाभित्रै नेपाल टेलिकमको रिचार्ज कार्डबाट समेत महशुल तिर्न सक्ने प्रणालीको विकास गरिने जानकारी दिए । सो प्रणालीको प्राधिकरणले यसअघि नै परीक्षण गरिसकेको छ ।
ग्रामीण क्षेत्रमा न्यूनतम रु ८० महशुल तिर्न रु ४०० सम्म खर्च गर्नुपरेको गुनासो आइरहेका बेला प्राधिकरणले यस्तो व्यवस्थाको कार्यानवयन गरेको हो । ग्रामिण क्षेत्रका ग्राहकले नजिकैको बैंक तथा वित्तीय संस्था वा इ–सेवाको सेवा उपलब्ध गराएका स्थानमा गएर महशुल तिर्न सक्नेछन् । प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गर्दा दिएको बिलअनुसार आफ्नो नजिक रहेका ती संस्थाको शाखामा गएर महशुल तिर्न सक्ने व्यवस्था गरिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहकलाई बढीभन्दा बढी सहज सेवा दिने लक्ष्यका साथ अनलाइन भुक्तानी प्रणाली शुरुवात गरिएको बताए ।