राजपाले आज दल दर्ता गर्याे- दर्ता नम्बर ५५

652
views

काठमाडौं,१० भदौ । राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा शनिबार दल दर्ता गराएको छ ।
उक्त पार्टीका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । राजपाको दल दर्ता नम्बर ५५ रहेको छ ।
सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ भने स्थानीय तहको निर्वाचन प्रदेश नम्बर–२ मा आगामी असोज २ गते हुँदैछ ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले भदौ ११ गते आइतबारसम्मको समय तोकेको छ । शनिबारसम्म आयोगमा ५६ ओटा दल दर्ता भइसकेका छन् ।दल दर्ता गराउनेक्रममा राजपाको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँगसमेत भेटवार्ता गरी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनकोबारेमा केन्द्रित रहेर छलफल गरेको छ ।

छलफलपछि सन्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले राजपाको जनताबीचमा जाने निर्णयअनुरुप दल दर्ताको लागि आयोगमा आएको बताए ।उक्त पार्टीले स्थानीय तहको निर्वाचनमा साइकल चिह्नमा चुनाव लडेपनि निर्वाचन आयोगसँग पार्टीको चुनाव चिह्न छाताको लागि प्रयास गरिरहेको बताइएको छ ।टोलीमा अध्यक्षमन्डलका सदस्य महेन्द्र यादव, शरत्सिंह भण्डारीलगायतका नेता सहभागी थिए ।