उपाधि उचाल्ने नेपालको लक्ष्य

2045
views

काठमाडौं, भदौ १० । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आइतबार (भोलि) आयोजक नेपाल र भारत भिड्दैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजेदेखि हुने खेल जितेर नेपालले भारतविरुद्ध बदला लिने लक्ष्य बनाएको छ ।
नेपाली टोलीका प्रशिक्षक सुनील श्रेष्ठले भारत प्रतियोगिताकै बलियो टिम रहेको भन्दै फाइनलमा नेपालले शतप्रतिशत खेल्ने बताए ।
उनले समूह चरणको खेलमा दुबै टोलीले एक–अर्कालाई चिन्ने अवसर पाएकाले त्यसको फाइदा उठाउँदै कमजोरी सुधारेर मैदानमा उत्रने बताए ।
भारतविरुद्ध समूह चरणमा २–१ को हारको बदला लिँदै उपाधि जित्न कुनै कसर बाँकी नराख्ने प्रशिक्षक श्रेष्ठको भनाइ छ ।
६ टोलीले सहभागिता जनाएको प्रतियोगिताको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले तथा भारतले भुटानलाई ३–० ले हराएको थियो ।
आइतबार नै बंगलादेश र भुटानबीच तेस्रो स्थानका लागि भिडन्त हुँदैछ ।