जापानी आकाशमा उत्तर कोरियाको क्षेप्यास्त्र, के गर्ला जापान ?

2310
views

काठमाण्डौ, १३, भदौ । उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ । जापानको उत्तरी होकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ। उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको बीबीसीले जनाएको छ ।
जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षण ‘अभूतपूर्व’, गम्भीर र देशका लागि खतरा भएको प्रतिक्रिया दिएका छन् । उनले नागरिको सुरक्षाका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताए ।
एकजना उच्च जापानी अधिकारीले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप जापानले ‘उपयुक्त कदम’ चाल्ने बताएका छन् ।
उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएपनि गत आठ वर्ष्भित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो र पछिल्लो परीक्षणले तनाव बढाएको देखिन्छ ।
प्योङयाङले हालैमात्रै अमेरिकी मूल भूभागसम्म मार हान्न सक्ने एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो । उत्तर कोरियाले गत शुक्रवार र शनिवार सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।