फनपाले लगायो ढाड सेक्ने कर, कान्छा मेयरलाई जनता सताउने रहर

2269
views

महेन्द्र जिसी
पर्वत, १७ भदौ । पर्वतको फलेवास नगरपालिकाले गरेको कृषिजन्य वस्तुमा कर लगाउने निर्णयको सर्वत्र विरोध भएको छ । देशकै कान्छा मेयरले काँचो निर्णय गरेको भन्दै फलेवासका कृषकहरुले कृषिमा लागएको करको सर्वत्र विरोधसँगै रुष्ट बनेका छन् । उनीहरुले फलेवासवासमा उत्पादित गरेको वस्तुमा कर लगाएर जनता सताउने निर्णय गरेको आरोप लगाएका छन् । कृषकहरुले सडक देखी सिँचाई समस्या रहेको नगरमा उत्पादन बढाउन अनुदान दिनुको सट्टा, कृषकको पसिनाबाट तलब र भत्ता खान गरेको यस्तो निर्णय विडम्बना भएको बताए । फलेवास नगर पालिका ३ का कृषक नर बहादुर थापाले कृषलाई भन्दा मेयर र जन प्रतिनिधिहरुले कमीसन खान गरेको उक्त निर्णयको उलंघन गनुपर्ने बताए । त्यस्तै व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका अर्का कृषक सुरजकुमार श्रेष्ठले पनि कृषकहरुलाई जानकारी नदिई कर लगाउनु जायज नभएको बताउन्दै आँफुले व्यावसायिक रुपमा टनेलमा तरकारी गरीरहेकोमा सडकको स्तर नहुँदा यातायातको समस्याका कारण तरकारी बारीमा कुहीएर गएको गुनासो गरे । यस्तो अवस्थामा कृषकमाथी कर लाध्नु युवाहरुलाई विदेश धपाउनु रहेको बताउनु भयो । दुग्ध सहकारी सञ्चालक सोभा शर्माले सडक कृषकहरु आँफैले खर्च गरेर मर्मत गरी वल्ल तल्ल सदरमुकाममा ढुवानी गरीरहेको बताउँदै कृषकहरुलाई जानकारी नगराई एक्कासी कर तोक्नु लोक तन्त्र नभई राणा शासन पुन फर्कीएको बताए ।
माओवादी केन्द्रका फलेवास ईञ्चार्ज गोविन्द राज केसीले विज्ञप्ती जारी गरेर नगरपालिकाले आफ्नो कार्यभार सम्हालेको तीन महिनामै जनताको ढाड सेक्ने गरि कर लागू गर्ने गरेको निर्णयले जनतालाई झन गरिबीको दलदलमा फसाउने उल्लेख गरिएको छ । नगरपालिकाको कृषिमा आधुनिकरण, व्यावसायिकरण र यान्त्रिकरण अझै सुरु नभएको, गुणस्तरीय मल, बीउ, बिरुवा, उन्नत नश्लका पशु पंक्षी नपाएको, कुर्घा, ठानामौला, कार्कीनेटा, देविस्थान, खानिगाउ, शंकरपोखरी लगायतका वडामा सुरु भएको दुध उत्पादन अभियान नियमित नभएको, दुध बोकेका गाडी सडक मै फसेर कृषकले दुख पाएको हुँदा नगरपालिकाले राहत, अनुदानको व्यवस्था गर्नुको सट्टा कर लगाउनु गलत भएको विज्ञप्ती फलेवास माओवादी केन्द्रले जारीगरेको हो । यो बाहेक लिमिठानाको अधुरो सिँचाई आयोजना, जीर्ण फलेवास नहरको मर्मत नभएको र विनियोजित बजेट समेत दुरुपयोग भएको, जमिन बाँझो रहेको र यिनको समाधानको लागि नगरपालिकाले पहल गरि कर लगाउने निर्णय खारेज गर्न अनुरोध गरेको छ । यता नगर प्रमुख पदम पाणी शर्माले भने
नगरपालिका आफैमा स्थानीय सरकार भएको र सबै अधिकार आँफुमा निहीत रहेको जनाउँदै २३ प्रकार कृषिजन्य वस्तुमा कर लगाउने निर्णय गरेको बताए ।
नगरपालिकाभित्र उत्पादन हुने कृषिजन्य वस्तुको परिमाणलाई आँकलन गरी प्रत्येक कृषि जन्य उत्पादनको फरकफरक दररेट कायम गरिएको उनको भनाई छ । सुन्तला तथा अमिलो जातका वस्तु, तरकारीको बिउ तथा ताजा तरकारी, कफी, लप्सी, आलु, अलैंची, अदुवा वेसार, मह तथा माहुरीका गोला, दुध निकासीकर लगाइने भएको हो । यसैगरी खसी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैंसी, राँगा, बंगुर, माको कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीको तबल भत्ता तथा नगरभित्रकै वडामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रूपले सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माले बताए ।
जिल्ला कृषि विकास कार्यालय पर्वतले आयात विस्थापन गर्न कर लगाईनु उचित भएको भएपनि कृषि उत्पादनका लगाएको कर मार्फत कृषि क्षेत्रमा लागू गर्नु पर्ने बताएको छ । वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने आयात विस्थापन गर्न कर लगाईनु उचित भएको बताए ।
नगरभित्र उत्पादित वस्तु निकासीका लागि मुख्य तीनवटा नाकाबाट कर संकलन गर्न टेन्डर समेत आह्वान गरिसकीएको नगरपालिकाले जनाएको छ । सदरमुकाम कुश्माबजारसँग जोडिने फलेवास नगरपालिकाको वडा नं. ४ मुडिकुवामा रहेको मुलुककै अग्लो झोलुङ पुल, दोविल्ला फलेवास सडकअन्तर्गत मल्याङदी खोला पुल र स्याङ्जा र कुश्मा नगरपालिकासँग जोडिने अर्को नाका फलेवास नगरपालिका १ स्थित कार्किनेटालाई नाका तोकेर कर उठाउने तयारी भएको नगरपालिकाको कार्यालयले जनाएको हो ।