‘थ्रीडी सेन्सर’सहित आइफोन–८ सेप्टेम्बर १२ मा आउने

2077
views

काठमाडौं,१६ भदौ  । आइफोन प्रयोगकर्ताहरुले नयाँ सुविधासहित ‘आइफोन–८’ चलाउन पाउने भएका छन् ।
आगामी सेप्टेम्बर १२ (भदौ २७) मा अमेरिकाको क्यालिफोर्नियास्थित क्यूपर्टिनोे एप्पल कम्पनिको मुख्यालयमा रहेको स्टिभ जब्स थियटरबाट ‘आइफोन–८’ को सार्वजनिक भएपछि विश्वभरका आइफोन प्रयोगकर्ताले एप्पलको नयाँ आइफोन चलाउन पाउनेछन् ।
बिहीबार कम्पनिले आगामी सेप्टेम्बर १२ मा सुधारिएको ‘आइफोन–७ एस’ र ‘एस प्लस’सँगै ‘आइफोन–८’ लन्च गर्ने घोषणा गरेपछि प्रयोगकर्तामाझ ‘आइफोन–८’ मा के छ र ? भन्ने जिज्ञासा बढेको छ ।
एप्पलले आइफोन–८ मा के–कस्तो सुविधाहरु हुनेछन् भन्ने थाहा पाउन सेप्टेम्बर १२ कुर्नुपर्ने एप्पल कार्यकारी प्रमुख टिम कुकले बताएका छन् । तर, केहि विशेषता भने सार्वजनिक गरेको छ जुन अझैसम्म कुनै स्मार्टफोन कम्पनिले दिन सकेको छैन् ।
‘थ्रीडी सेन्सर’सहितको ‘फिंगरप्रिन्ट’ र ‘फेसियल रिकगजिनेसन’को सुविधा रहेकोले आइफोनको सुरक्षा अझ बलियो हुने देखिएको छ भने फोनबाट ‘थ्रीडी सेन्सर’सहित ‘लेजर फोटो’ खिच्न सकिने छ ।
त्यस्तै, वायरलेस चार्जिङ र छोटो समयमै चार्ज गर्न सकिने ‘सि युएसबि’ सुविधा रहेको छ । आइफोन–७ भन्दा ठूलो डिस्प्ले हुने र यसले एप्पलको अन्य उत्पादनसँगै ‘आइफोन पेनसील’लाई पनि सर्पोट गर्ने छ ।
करिव ९०० देखि १२०० अमेरिकी डलरको विचमा मूल्य रहने बताइएको आइफोन–८ सुरुमा निश्चित संख्यामा बुकिङको आधारमा विक्रि गर्ने र त्यसपछि विश्व बजारमा सहज रुपमा पाइने जनाइएको छ ।
एप्पलले आइफोन–८मा अझै धेरै महत्वपूर्ण सुविधाहरु रहेको र त्यसले विश्वलाई चकित पारिदिने उल्लेख गर्दै ‘एप्पलको इतिहास सेप्टेम्बर १२’ सम्म धैर्य गर्न अनुरोधसमेत गरेको छ ।
यसअघि नै प्रयोगकर्ताले पाएको सुविधाको तुलनामा आइफोन–८ मा प्रयोगकर्ताले विशेष सुधारिएको डिजिटल अडियोको मज्जा लिन पाउने छन् । आइओएस ११ भर्सनमा आउन लागेको आइफोन ‘वाटरप्रुफ’ र ‘एप्पल्स् नेक्स्ट जेनेरेशन प्रोसेसर ए–१० एक्स तथा ए–११’ प्रयोग गरिएको उल्लेख छ ।
एप्पलले आगामी सेप्टेम्बर १२ मा ‘एप्पल टिभी मीडिया स्ट्रीमिङ डिभाइस’को समेत अपग्रेड गर्नसक्ने ‘सिएनएन’ले उल्लेख गरेको छ ।