नेपालको जोड पूर्वाधारमा, चीनको जोड सम्बन्धमा, केरुङ–काठमाडौ–पोखरा–लुम्बिनी रेल सेवा सञ्चालन

2097
views

काठमाण्डौ, २२, भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले क्षेत्रीय र अन्तराष्ट्रिय मञ्चमा नेपाल र चीनको साझा अवधारणा बनाउने प्रस्ताव चीन समक्ष राखेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले आफूहरुबीच त्यस्तो विषयमा पनि छलफल भएको बताएका थिए ।
ऊर्जामा सहकार्य बढाउन संवाद संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने र त्यसले ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुल्ने मन्त्री महराले बताए । अरनिको राजमार्ग छिटै खुला गर्ने र यथास्थितिमा रहेका सीमालाई स्तरोन्नती गर्ने र नयाँ सीमा खोल्ने बिषयमा पनि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गरिएको मन्त्री महराले बताएका छन् ।
नेपाल र चीनबीचको अन्तरदेशीय सीमा पार गराई केरुङ–काठमाडौ–पोखरा–लुम्बिनी रेल सेवा सञ्चालन गर्ने संम्भाव्यता अध्ययन गर्ने बिषयमा चिनिया परराष्ट्रमन्त्री यीसँग छलफल भएको महराले बताए । पारवहन तथा यातायात सम्बन्धी सम्झौताको प्रोटोकलको मस्यौदाका बारेमा पनि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग छलफल भएको छ । मस्यौदालाई अन्तिम रुप दिन सम्वादलाई तीब्रता दिन दुवै पक्ष सहमत भएको महराले बताएका छन् ।
चीनले अगाडि बढाएको वेल्ट एण्ड रोड इनिसियटिभमा जनस्तरको सम्बन्ध,व्यापार,पर्यटन र लगानी प्रबद्र्धन,रेल सेवा र सडकसहित अन्तरदेशीय सीमा सम्पर्कमा बृद्धि, पूर्वाधार संरचना निर्माणको विकासमा योगदान पुग्ने अपेक्षा नेपालले राखेको मन्त्री महराले बताए । नेपालको विकासमा निरन्तर चिनिया सहयोग प्रति धन्यवाद दिदै काठमाडौ बसन्तपुर दरवारलाई नौ तले बनाउनेसहित महत्वपूर्ण अन्वेषणात्मक परियोजनामा खर्च गर्ने गरी चीनले सन २०१६ र २०१७ का लागि दुई अर्व आरएमबी परिचालन गर्ने सम्झौता भएको पनि जानकारी गराए । सो अवसरमा चीनका मुख्य शहरमा नेपालका प्रमुख पर्यटकीय गन्तव्यको प्रचार प्रसार चीन सरकारले गरिदिने अपेक्षा पनि महराले व्यक्त गरेका छन् ।