को बन्ला यो बर्ष उत्कृष्ट युवा वर्ष खेलाडी ?

2038
views

काठमाडौं,२३ भदौ पल्सर स्पोर्ट्स अवार्डको आठ विधामध्ये वर्षका उत्कृष्ट युवा खेलाडीको विधामा कडा प्रतिस्पर्धा देखिने भएको छ।
आगामी भदौ २६ गते प्रदान गरिने उक्त अवार्डका लागि क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली मनोनयनमा परेका छन्।
वर्ष २०७३ सालमा गरिएको प्रदर्शन र प्राप्त उपलब्धिको आधारमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सो मनोनयन घोषणा गरेको हो।
नेपालमा फुटबलपछि क्रेज भएको दोस्रो खेलका रुपमा क्रिकेटलाई लिइन्छ। नेपाली क्रिकेटका युवा प्रतिभाशाली खेलाडी दीपेन्द्रले गत वर्ष अन्तराष्ट्रिय क्रिकेटमा नेपाली टिमका लागि सर्बा्धिक ३ सय ५७ रन बनाएका थिए। त्यसमा उनले चार अर्धशतक सहित ४ विकेट पनि लिएका थिए।
घरेलु मैदानमा केन्या विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका दीपेन्द्रले सिनियर टिमबाट खेलेका ५ खेलमा तीन अर्धशतक सहित २ सय ११ रन जोडेका थिए। सिनियर टिमबाटको दोस्रो खेलमा उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्ध ६२ रन बनाएका थिए।

त्यस्तै, ‘इमर्जिङ टिम्स कप’मा उनले बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध नटआउट ६० रन बटुलेका दिपेन्द्रले यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध ९० रन प्रहार गरेपछि वर्षको उत्कृष्ट युवा खेलाडीको दाबेदार बनेका हुन्।
‘नेपाली खेलकुदको उत्कृष्ट अवार्डको मनोनयनमा पर्नु नै जित्नु सरह हो,’ पिपुल्स च्वाइस विधामा पनि मनोनयनमा परेका दीपेन्द्र भन्छन्, ‘मनोनयनमा पर्दा मैले राष्ट्रका लागि केही योगदान गर्नसकेको रैछु भन्ने भान हुन्छ।’
वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका अर्का खेलाडी हुन्, फुटबलका अनन्त तामाङ। नेपालले एएफसी सोलिडारिटी कप जित्दा यी सेन्टरब्याकको भूमिका महत्वपुर्ण रह्यो।
मलेसियामा भएको सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले लाओसलाई २—२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेको थियो। उक्त खेलमा अनन्तले हेडद्वारा एक गोल गरेका थिए।
वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पर्ने अर्की खेलाडी हुन्, मनिता श्रेष्ठ प्रधान। जुडोकी मनिता लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयमा परेकी हुन्।
मनिताले अघिल्लो वर्ष १२ औं दक्षिण एसियाली खेलकुदमा रजतपदक जितेकी उनी नेपाली जुडोकी एक प्रतिभाशाली खेलाडी हुन्। उनले २०७३ सालमा भारतको कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्यपदक जितेकी थिइन्। उक्त च्याम्पियनसिपमा उनी ३ खेल जितेर कांस्यसम्म पुगेकी थिइन्।
मनिताले गतवर्षका घरेलु प्रतियोगिताहरुमा समेत उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका स्मृति जुडो च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा स्वर्णपदक जितेकी थिइन्।
अम्बिका स्मृति जोडोकी उनी सर्बोत्कृष्ट खेलाडी हुन्। उनले गत वर्ष उज्वेकिस्तानमा भएको एसियन जुडो च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेकी थिइन्।
२०७३ सालमा भरत्तोलनमा चार राष्ट्रिय कीर्तिमान बनाएपछि सुनसरीकी कमला श्रेष्ठले वर्षको उत्कृष्ट युवा खेलाडीमा दाबेदारी प्रस्तुत गरेकी हुन्।
त्रिभुवन आर्मी क्लबमा आबद्ध उनले जापानमा भएको युथ एन्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिपमा कुल १४० केजी उचाल्दै सिनियरकै कीर्तिमान तोडेकी थिइन्।
सातौं राष्ट्रिय खेलकुदमा पनि तीन राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्णपदक हात पारेकी थिइन्। त्यस क्रममा उनले १२ वर्ष पुरानो झन्ट कटवालकोसमेत कीर्तिमान तोडेकी थिइन्। उनले स्न्याच ६६ केजी, क्लिन एन्ड जर्क ७९ केजी गरी कुल १ सय ४५ केजी उचालेकी थिइन्। उनी पाँचौं ग्राँ प्रि भारोत्तोलनका पनि स्वर्णपदक विजेता पनि हुन्।
नेपाली भलिबलकी मुख्य स्पाइकर प्रतिभा माली छोटो समयमै नेपाली खेलकुदप्रेमीहरु बीच परिचित बनेकी थिइन्। गत वर्ष न्यु डायमन्ड एकेडेमीलाई ४ उपाधि दिलाउन मुख्य खेलाडीको रुपमा योगदान गरेकी प्रतिभा यस वर्षको युवा खेलाडीकी अर्की मुख्य दाबेदार हुन्।
उनको टिम सातौं राष्ट्रिय खेलकुदसहित ३ प्रतियोगितामा उपविजेता र १ मा तेस्रो भएको थियो। ४ प्रतियोगितामा बेस्ट प्लेयर भएकी प्रतिभा ढोरपाटनमा पपुलर प्लेयर, शेरबहादुर खड्का स्मृतिमा स्पेसल अवार्ड र पोखरा महिला भलिबलमा बेस्ट स्पाइकर घोषित् भएकी थिइन्।
उनी माल्दिभ्सको मिस्किमागुबाट खेल्दै अल मुदिस वुमेन्स नेसनल च्याम्पियनसिपमा विजेता पनि भएकी थिइन्। उक्त च्याम्पियनसिपमा उनले सर्बोत्कृष्ट बिदेशी खेलाडीको अवार्ड जितेकी थिइन्। उनी ४ पटक ‘क्वीन अफ द म्याच’ पनि भएकी थिइन्। मालेमा भएको महिला विश्वकप छनोटको नेपाली राष्ट्रिय टिमबाट खेल्दा उनी सेकेन्ड बेस्ट आउटसाड अट्याकर पनि चुनिएकी थिइन्।
अवार्डको तयारी अन्तिमचरणमा रहेको बताउँदै आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले मनोनयनमा परेका सवै खेलाडीहरु उत्कृष्ट भएको बताउँदै अवार्ड कसले जित्ने भन्ने प्राविधिक विषय मात्रै भएको बताए । नेपाल खबरबाट