सरकार र निर्वाचन आयोगबीच मतभेद

2354
views

नवदृष्टि संवाददाता
पर्वत, २४, भदौ । मंसिर १० र २१ मा हुने प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारको सूची पहिले पेश गर्ने कि समानुपातिक उम्मेदवारको बन्द सूची पहिले पेश गर्ने भन्ने विषयमा सरकार र निर्वाचन आयोगकाबीच मतभेद उत्पन्न भएको छ । प्रधानमन्त्री कार्यालय सिंदरबारमा भएको निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिले प्रत्यक्ष उम्मेदवारको सूची पेश गर्ने र त्यसपछि समानुपातिक उम्मेदवारको सूची बुझाउने गरी निर्वाचन कार्यतालिका तय गर्न आग्रह गरेपनि देउवाको आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले पहिले समानुपातिक उम्मेदवारको सूची पेश गर्नु पर्ने बताएपछि सरकार र निर्वाचन आयोगकाबीचके मतभेद बढेको हो । आयोगले प्रत्यक्ष उम्मेदवारको उम्मेदवारी दर्ताअघि नै समानुपातिक उम्मेदवारको बन्द सूची आयोगलाई बुझाउनु पर्नेमा जोड दिँदै आएको छ ।
कांग्रेस नेता विमलेन्द्र निधिले १६५ निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवारको सूची पहिले पेश गर्ने कि समानुपातिक उम्मेदवारको भन्ने विषयमा आयोगसँग छलफल भएको बताएका छन् । उनले समानुपातिभन्दा पहिले प्रत्यक्ष उम्मेदवारको उम्मेदवारको सुची बुझाउने व्यवस्था गर्न आयोगलाई आग्रह गरिएको बताए । तर, आयोगले भने पहिले समानुपातिक उम्मेदवारको सूची पेश गर्नु पर्छ भनेको छ,’ निधिले भने ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले संघ र केन्द्रको निर्वाचन कार्यतालिकाबारे छलफल भएको बताए । ‘समानुपातिक उम्मेदवारको बन्द सूची पहिले पेश गर्ने कि प्रत्यक्ष उम्मेदवारको गर्ने भन्ने विषयमा छलफल भयो । हामीले प्रधानमन्त्रीज्यूलाई यसबारेमा विभिन्न किसिमका विकल्पहरु दिएका छौं,’ यादवले भने ।
निर्वाचन आयोगले शुक्रबार प्रदेश र केन्द्रको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको थियो । प्रधानमन्त्री देउवाले तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक नगर्न आग्रह गरेपछि आयोग पछि हटेको छ ।