सिजन शुरु भएसँगै लमजुङमा पर्यटक चहलपहल शुरु

2138
views

बेँसीशहर (लमजुङ), भदौ ३१ गते । लमजुङमा पर्यटकको चहलपहल शुरु भएको छ । सिजन शुरु भएसँगै अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहरमा पर्यटकको चहलपहल शुरु भएको हो ।
बढी व्यस्त मानिने अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटकको आगमन बढेपछि व्यवसायी उत्साहित भएका छन् । सेप्टेम्बर र अक्टोबर महिना नेपालमा पर्यटक भित्रिने मुख्य समयको रुपमा लिइन्छ ।
अहिले लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकको संख्या दैनिक ७० को हाराहारीमा रहेको टिम्स पर्यटन जाँचकेन्द्र बेँसीशहरका नन्दराज भट्टले बताउनुभयो ।अन्नपूर्ण पदमार्गसँगै जिल्लाका घलेगाउँ, काउलेपानीलगायतका ग्रामीण पर्यटकीय गाउँ आउनेको संख्या पनि उल्लेख्य थपिएको छ ।
राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय चर्चा कमाएका लमजुङका पर्यटकीय गाउँले स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्नाले पर्यटन व्यवसायी पनि उत्तिकै उत्साहित भएका छन् । पर्यटनको आगमन बढेसँगै व्यवसाय पनि राम्रो भएको बेँसीशहरस्थित गेटवे हिमालयन रिसोर्टकी निर्देशक अञ्जु पौडेलले बताउनुभयो ।
लमजुङ सदरमुकाम बेँसीशहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीशहरबाट खुदी, भुलभुले, ङ्यादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । अन्नपूर्ण पदमार्गसँगै समुद्री सतहबाट सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल पुग्ने पर्यटक पनि प्रशस्तै आउने गरेका छन् ।
अन्नपूर्ण पदयात्रा मार्ग विश्वका १० उत्कृष्टमध्ये एक हो । एक्यापका अनुसार अन्नपूर्ण पदमार्गमा सबैभन्दा धेरै बेलायत, इजरायल, कोरिया, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायतका देशका नागरिक आउने गर्छन् । गोरखापत्र अनलाइनबाट