काठमाडौँ– असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त पछिल्लो विवरण अनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३६, नेकपा (एमाले) १६, नेकपा माओवादी केन्द्र २०, राष्ट्रिय जनता पार्टी नेपाल २१, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल २ र नयाँ शक्ति नेपाल १ स्थानमा विजयी भएका छन् ।
यसैगरी, जम्मा १२७१ वडामा भएको निर्वाचनमा हालसम्म ११७८ वडाको मतगणना कार्य सम्पन्न भएको छ । आयोगमा अब १४ स्थानीय तह र ९३ वडाको निर्वाचन परिणाम आउन बाँकी छ ।
एकाध स्थानीय तहमा राजनीतिक दलसँगको छलफलपछि मतगणनालाई पुनः सुरु गर्ने प्रयास भइरहेको र बाँकी सबै स्थानमा शान्तिपूर्णरुपमा मतगणना कार्य जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।