भेरी–बबई डाईभर्सन आयोजनाको सुरुङ मेसिनबाट खन्न सुरु

2265
views

बर्दिया । भेरी–बबई डाईभर्सन वहुउद्देश्यीय आयोजनाको मेसिनबाट सुरूङ खन्ने काम सुरु भएको छ । फूलपातीको अवसर पारेर सिँचाई मन्त्री संजयकुमार गौतमले उद्घाटन गर्नुभएको हो ।
मन्त्री गौतमले मेसिनको स्वीच थिचेर उद्घाटन गरी राष्ट्रिय गौरवको आयोजना अन्र्तगत रहेको भेरी–बबई नदी बीचको सुरूङ खन्ने काम गरिएको हो ।
नेपालमै पहिलो पटक चुरे पहाडमा प्रयोग स्वरुप सुरु गरिएको (टीवीएम) आधुनिक प्रविधिको मेसिन प्रयोग गरिएको र यो प्रविधी नेपालका निर्माणाधीन अन्य आयोजनाहरुमा समेत सफलता मिल्ने सिँचाई मन्त्री गौतमको भनाई छ ।
उक्त मेसिनबाट दैनिक १५ देखि २० मिटरको सुरूङ खन्ने काम हुने भएकाले चाँडो भन्दा चाँडो आयोजना सम्पन्न गर्न सरकार लागि परेको उनले बताए । प्रविधिको प्रयोगले २ वर्ष सम्ममा १२ किलोमिटर सुरूङ खन्ने लक्ष्य रहेपनि प्राविधिक जटिलताका कारण १ बर्ष थप गरी ३ वर्ष सम्ममा सुरूङ निर्माण कार्य सम्पन्न हुने गौतमको भनाई छ ।
सो आयोजनाले बाँके बर्दियाको ५१ हजार कृषि क्षेत्र सिँचित हुने छ भने ५ वर्ष भित्रमा पावर हाउस र भेरी नदीमा वाँध वाध्ने कार्य समेत सम्पन्न हुने मन्त्रीको भनाई छ । नेपालमा टीवीएम मेसिनको सफलतासँगै मेट्रो रेल, हाईड्रोपावर, फास्टट्रयाक निर्माण कार्यले समेत सफलता पाउने मन्त्री गौतमको दाबी छ ।
मेसिनको प्रयोग नेपालमा पनि सुरु भएकाले विकासको मेरुदण्ड बन्ने भेरी(बबई डाईभर्सन आयोजनाका निर्देशक शिव कुमार वस्नेतले बताए । बस्नेतले ६ वर्षअघि काम सुरु गरेको आयोजनामा हालसम्म १५० मीटर मात्र सुरूङ खन्ने काम भैसकेको र २ सय ७४ मिटर लम्बाईको टीवीएम मध्ये १ सय ३० मीटर जडान गरिएको बताए ।
सुरूङमा प्रवेश गराईएको मेसिन ३ वर्षमा भेरीको मुहानमा निस्किने बताईएको छ । १० अर्ब ५६ करोड रुपैयाँको लागतमा सञ्चालित आयोजनाको काम सन् २०२० मार्च सम्ममा सम्पन्न गरिसक्नु पर्ने छ । गत आर्थिक वर्षमा साढे ४ अर्ब रकम आवस्यक रहेपनि ३ अरव ९५ करोड रुपैयाँ मात्र उपलब्ध भएको निर्देशक बस्नेतले प्रष्ट्याए । सरकारले राष्ट्रिय गौरवको भेरी(बबई डाईभर्सन वहुउद्देश्यीय आयोजना निर्माणको सम्झौता चाईना ओभरसिज ईन्जिनियरिङ्ग ग्रुपसँग गरेको थियो ।