काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई बिहीबार स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको महासभामा भागलिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत पुरा गरी बिहीबार अबुधावी हुँदै स्वदेश फर्किएका हुन
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख र उच्च पदस्थकर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवालाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो ।
स्वदेश फर्केपछि विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा
प्रधानमन्त्री देउवाले आफूले महासभालाई सम्बोधनका क्रममा नेपालको नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचनलगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएको, नेपाल राष्ट्रसंघमा उद्देश्य परिपूर्तिमा प्रतिबद्ध रहेको, विश्व शान्ति र आतंकवाद नियन्त्रण गर्न ऐक्यबद्ध भएको बताए ।
प्रधानमन्त्री देउवाले नेपाल सार्कको अध्यक्ष मुलुकसमेत रहेको नाताले १९ औँ सार्क शिखर सम्मेलन गराउने विषयमा त्यहाँ उपलब्ध सार्क मुलुकका परराष्ट्र मन्त्रीहरुको अनौपचारिक बैठक समेत भएको बताए ।
राष्ट्र संघको शान्ति स्थापनाको लक्ष्यमा शान्ति सेनाको भूमिका थप प्रभावकारी बनाउन तथा काभ्रेको पाँचखालस्थित सैनिक तालिम केन्द्रलाई क्षमता वृद्धि गर्न कुराकानी भएको उनले बताए ।
प्रधानमन्त्री देउवाले आफ्नो ओमानको औपचारिक भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको र त्यहाँस्थित नेपाली श्रमिकहरुको श्रम शोषण अन्त्यका लागि विशेष पहल गरिने बताए ।
चिकित्सकहरुको जारी हडतालका बारेमा पत्रकारद्वारा सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले उहाँहरुको माग सम्बोधन गर्न तथा चिकित्सकको सुरक्षाका लागि सरकार सदैव तयार रहेको तर स्वास्थ्य सेवामा हडतालका कार्यक्रम फिर्ता लिनुपर्ने प्रतिक्रिया दिए ।
सयुक्त राष्ट्रसंघ महासभामा भागलिनका लागि देउवा यही असोज ३ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए।