मेस्सीको जादुमयी ह्याट्रिक जसले विश्वकपमा छनौट गरायो

690
views

काठमाडौं । अर्जेन्टिना आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निर्णायक खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले जादुमयी प्रदर्शन गर्दै ह्याट्रिक गरेपछि अर्जेन्टिना विश्वकपका लागि छनौट भएको हो ।

इक्वेडरविरुद्धको खेल जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिना पहिलो मिनेटमा नै रोमारियो इबाराले गोल गरेपछि १–० ले पछि परेको थियो । तर, अर्जेन्टिनाले उत्कृष्ठ कमब्याक गर्यो ।

एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जे्न्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

खेलको ११ औं मिनेटमा एन्जेल डि मारियाको पासमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये शीर्ष चारमा रहने टिमले विश्वकपमा सोझै स्थान बनाउँछन् भने पाँचौं स्थानमा रहने टिमले प्ले–अफ खेल्नु पर्नेछ । अर्जेन्टिनाले १८ खेलबाट २८ अंक जोड्दै तेस्रो स्थानमा रहेर रुस यात्रा तय गरेको हो ।