तालिवानले अपहरण गरेका एक दम्पत्ति रिहा

844
views

इस्लामावाद, २८, असोज । अन्तराष्ट्रिय आतंकवादी सञ्जाल तालिवानले अपहरण गरेका एक दम्पत्ती रिहा भएका छन् । क्यानाडेली पति र अमेरिकी पत्नीले तालिवानकै नियन्त्रणमा रहँदा तीन सन्तानलाई जन्म दिइसकेका छन् ।
तीन सन्तान र दम्पत्ती गरी पाँचै जनालाई सकुशल उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । अमेरिकी गुप्तचरसँगको सहकार्यमा पाकिस्तानी सेनाले उनीहरुलाई तालिवानको नियन्त्रणबाट मुक्त गराएको हो ।
क्यानाडाका जोशुआ बोयल र उनकी अमेरिकी पत्नी क्याटलन कोलमेनलाई तालिवानले अफगानिस्तानबाट सन् २०१२ मा अपहरण गरेको थियो । अपहरण हुँदा कोलमेन गर्भवती थिइन् । तालिवानको कब्जामै पहिलो सन्तान जन्माएकी उनले त्यसपछि थप दुई सन्तानलाई जन्म दिइन् ।
पाँच वर्षसम्म तालिवानको कब्जामा बिताएका उनीहरुलाई हालै तालिवान समूहले पाकिस्तानी क्षेत्रमा लगेको थियो ।
ती दम्पत्तीको रिहाईमा पाकिस्तानी सेनाले निर्वाह गरेको भूमिकालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशंसा गरेका छन् । (एजेन्सी)