बालुवाटारमा प्रधानमन्त्रीले थाले नयाँ सरकार गठनका लागि कानुनी परामर्श

727
views

काठमाडौ । प्रधानमन्त्री देउवाले बिभिन्न पेशा र व्यवसायीहरुसँग बृहत लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने बारेमा सरकारी निवास बालुवाटारमा कानुनी परामर्श थालेका छन् ।
काँग्रेस बैठक लगत्तै प्रधानमन्त्री देउवाले कानुनी परामर्श गर्न थालेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए ।
नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढाएपछि उत्पन्न परिस्थिति र समसामयिक राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री देउवाले कानुनी परामर्श थालेका हुन ।
परामर्शमा बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेव यादव, बसन्तराज भण्डारी, बिपिन अधिकारीसहित नेपाल बार एशोसियनका पदाधिकारीहरु सहितका कानुनविदहरुलाई प्रधानमन्त्री देउवाले परामर्शका लागि बोलाएका हुन् । लोकतान्त्रिक गठबन्धनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाले परामर्शलाई निरन्तरता दिएको परियारले बताए ।
मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई दुई पटक भेटेर एमालेसँग चुनावी तालमेल गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने र बर्तमान सरकारले नै निर्वाचन गराउने बताएका थिए । प्रधानमन्त्री देउवाले कानुनी परामर्शपछि सरकार गठनका बारेमा समेत परामर्श गर्ने बताइएको छ ।