माइक्रोफाइनान्स बित्तीय संस्थाको अध्यक्षमा मानन्धर

1178
views

काठमाडौँ ,८ कात्तिक । बुधवार बसेको मेरो माइक्रोफाइनान्स बित्तीय सस्थाको अध्यक्षमा सञ्जिब मानन्धर सर्वसम्मत रुपमा चयन हुनु भएको छ । स्थापनाकालदेखि बैंकको सञ्चालक सदस्य रहँदै आउनु भएका मानन्धर प्राइम कमर्सियल बैंकको प्रतिनिधीको रुपमा सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुन्छ ।

गत असोज ३० मा नुवाकोटको विदुरमा सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सदस्यहरु चयन गरेको थियो । सोही सदस्यहरु मध्येबाट संचालक समितिको अध्यक्ष पदमा मानन्धर बुधबार चयन हुनु भएको हो ।
साधारण सभाले कम्पनीको संचालक समितिमा मानन्धरसहित जनता बैंक नेपालका तर्फबाट पृथ्वी नारायण श्रेष्ठ, ग्लोबल आइएमइ बैंकका तफैबाट आरती राज्यलक्ष्मी राणा र देब बिकास बैंकका तर्फबाट नरेश सिहं बोहोरालाई चयन गरेको थियो ।
यसअघि सञ्चालक समितिको अध्यक्षता गरिरहनु भएका सिटिजन्स बैंक ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले अध्यक्ष पदबाट राजिनामा दिनुभएपछि नयाँ अध्यक्ष चयन गरिएको हो । बैंक तथा बित्तीय सस्थासम्बन्धी ऐन (बाफिया) मा एउटा बैंक तथा वित्तीय संस्थाको कर्मचारी समान उद्देश्यको संस्थामा संचालक बस्न नपाउने व्यवस्थासहित संशोधन भएर कार्यान्वयनमा आएपछि भण्डारीले अध्यक्ष पदबाट राजिनामा दिनुभएको हो ।
मेरा माइक्रोफाइनान्सले हाल ४५ जिल्लाका ग्रामीण तथा सहरोन्मुख इलाकामा बसोबास गर्ने बिपन्न समुदायमा ७० शाखाहरु मार्फत बित्तीय साक्षरतासहित लघु बित्त सेवा प्रदान गर्दै आएको छ ।